स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौँ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो ।

आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा १ करोड ४० लाख ७२ हजार ४२४ मतदाता थिए । तीमध्ये ७० लाख ७९ हजार १५३ पुरुष थिए भने ६९ लाख ९३ हजार १४४ जना महिला मतदाता थिए । जस अनुसार अघिल्लो स्थानीय तहको चुनावको तुलनामा यसपटकको चुनावमा ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मंसिर १७ गतेदेखि एक महिना मतदाता नामावली संकलन अभियान चलाएको थियो । यस्तै आयोगले माघ २५ गतेदेखि मतदाता नामावली संकलन रोकेर विवरण अध्यावधिकको काम सुरु गरेको थियो । मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेका युवाहरूले यसपटकको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।

प्रतिक्रिया