गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी सफल अवतरण

भैरहवा : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ। दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो। यसअघि जहाज रनवेबाट फर्किन सकेको थिएन। तर केही समयमै फर्काइएको थियो।
विमानस्थल पुगेपछि जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो। अहिले जहाजबाट ओर्लिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव लगायतलाई स्वागत गरिएको छ। उनीहरूलाई खादा, माला लगाएर विमानस्थल प्रशासनले स्वागत गरेको छ।
प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकतापूर्वक पर्खिएर बसेका थिए। जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता दुई सय ७४ छ।
जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो। नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट परीक्षण उडान गरेको हो।
प्रतिक्रिया