नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन्।भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो। नियुक्त भएको एक महिनापछि श्रीवास्तव शनिबार अपराह्न नयाँदिल्लीबाट कार्यभार सम्हाल्न भिस्तरा एयरको उडानमार्फत काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत श्रीवास्तवलाई भारतीय राजदूतावासका नियोग उप-प्रमुख एवं कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी नामग्य सी खम्पा, दूतावासका अधिकारी र शुभेच्छुकहरुले स्वागत गरेका थिए। निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको थियो।

यसअघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीकारुपमा श्रीवास्तवले चीन, जापान, कोरिया र  मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए। करियर कूटनीतिज्ञ श्रीवास्तव चिनियाँ मामिला जानकार हुन्। उनले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन्। पूर्वीलद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। साथै उनले वासिङटन डिसी, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन्।

प्रतिक्रिया