फिलिपिन्समा राष्ट्रपति मार्कोसको सपथ

फिलिपिन्समा राष्ट्रपति मार्कोसको सपथ

काठमाडौं :  फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले मनिला शहरमा हजारौं मानिसहरूका बीच शपथ ग्रहण गरेका छन् । मार्कोस जुनियर भनेर चिनिने ६४ वर्षका उनको सपथग्रहण समारोहमा मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित उपस्थित थिए ।

चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तिले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए । मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई पराजित गरेर राष्ट्रपति निर्वाचित भएका हुन् ।बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए ।

मार्कोस जुनियरको जितलाई फिलिपिन्समा फेरि एक पटक मार्कोस वंशको पुनरागमनका रुपमा हेरिएको छ । १९६५ देखि फिलिपिन्सको सत्तामा रहेका फर्डिनान्ड मार्कोस सन् १९८६ मा भएको आम विद्रोहपछि पदच्युत भएका थिए । मार्शल ल लगाएर शासन गरेका उनको कार्यकालमा फिलिपिन्समा व्यापक मानवअधिकार हनन भयो र भ्रष्टाचार पनि भएको थियो ।

पदच्युत भएपछि मार्कोस परिवारले देश छाडेको थिए । त्यतिबेला मार्कोस जुनिएर २८ वर्षका थिए । उनी सन् १९९१ मा फिलिपिन्स फर्केर राजनीतिमा लागेका थिए ।

विश्वले ‘तानाशाह’ भने पनि मार्कोस जुनिएर आफ्ना बावुको शासनकाललाई फिलिपिन्सको सुनौलो समय भन्छन् । आफ्ना बावुले गरेका काम भन्दै सामाजिक सञ्जालमा झुटो प्रचार गरेर उनले फिलिपिन्सका युवा मतदाताको मन जितेर राष्ट्रपति चुनिएको आरोप छ ।

उपराष्ट्रपतिमा निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टो चुनिएको थिइन् । मार्कोस र डुटेर्टो परिवारले सँगै रहेर चुनावी प्रचार प्रचार गरेका थिए । साराले पनि उपराष्ट्रपतिको शपथ लिएकी छिन् ।

 

प्रतिक्रिया