‘सामाजिक काम गर्दा ६ महिना सैनिक हिरासतमा बिताएँ’

          |   प्रकाशित मितिः शनिबार, भदौ ११, २०७९     ::: 485 पटक पढिएको   |  

नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडी पारिएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाको बृहत्तर सुधारका लागि २०५४ सालमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल २५ वर्ष पुरा भएको छ । आत्मा साक्षी राखी मन बचन् र कर्मले सेवा गरौँ भन्ने मूल नारा र सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तटस्थताको मुल्य र मान्यता राख्दै संस्थाले स्थापनाकालदेखि महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला, बालबालिका, लोपोन्मूख जाती राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा विभिन्न गतिविधि गर्दै आएको छ ।
संस्थाले २५ वर्ष पुरा भएको अबसरमा आज २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ती मनाउँदैछ । संस्थाले स्थापनाकालदेखि २५ वर्षको अवधीमा गरेका मुख्य २५ उपलब्धीहरु समेत सार्वजनिक गरिसकेको छ । संस्था स्थापना, हालसम्म भोग्नु परेको चुनौती र अफ्ठ्यारा लगाएतका विषयमा ज्वाला सन्देशले संस्थाका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापासँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईको बाल्यकालबारे केहि बताइदिनुहोस् न ?

मेरो जन्म दैलेखको भैरवी गाउँपालिका–२ बडचिन्तेमय (साविकको रावतकोट गाउँ विकास समिति–२) मा वि.स. २०२८ बैशाख ३ गतेका दिन आमा बाटु थापा र बुवा पदमबहादुर थापाको साइला सुपुत्रका रुपमा भएको हो । मेरो पारिवारिक अवस्था सामान्य भएकाले बाल्यकाल पनि सामान्य वातावरणमा नै बित्यो ।

तपाईको अध्ययनको शिलशिला र पारिवारिक अवस्थाबारे जानकारी दिन चाहानुहुन्छ की ?

अवश्य पनि, मैले विद्यालय शिक्षा विजया माध्यमिक विद्यालय दुल्लुमा अध्ययन गरेको हुँ । एसएलसी पश्चात डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग पुलचोक इन्जिनियरिङ्ग क्याम्पस,पुलचोक ललितपुरबाट पुरा गरेको हुँ । हाल मेरो परिवारमा म, पत्नि, दुई छोराहरु गरि जम्मा ४ जनाको संख्या रहेको छ । पत्नि सीताकुमारी राना राजनीतिमा सक्रिय हुनुहुन्छ । छोराहरु विद्यालय तहको अध्ययन पुरा गरि उच्च शिक्षा अध्ययनरत छन् ।

तपाईले कहिलेदेखि सामाजिक कार्य थाल्नुभयो ?

मैले यस संस्थाको स्थापनाकालदेखि अध्यक्षका रुपमा कार्य गर्दै आएको छु । विभिन्न कालखण्डमा संस्थाको हितका लागि कार्यसमितिबाट बाहिर रहेर पनि कार्य गरेको छु । वि.सं. २०७८ को वार्षिक साधारण सभा तथा अधिवेशनबाट पुनः अध्यक्षको पदमा निर्वाचित भएको थिएँ । हाल कार्यसमितिको निर्णयले विगत ३ महिनादेखि संस्थाको कार्यकारी प्रमुखको रुपमा कार्य गरिरहेको छु ।

तपाई सोसेक नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ, संस्था स्थापनाको सोच कसरी पलायो ?

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडी पारीएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि पार्टीगत राजनीतिबाट अलग रहेर एक मुनाफा रहित सेवा प्रदायक संस्थाको रुपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । देशको समग्र विकासका लागि सरकारी क्षेत्रबाट मात्रै सम्भव नहुने कुरालाई मध्यनजर गर्दै नागरिक समाजले पनि समाजको विकासको लागि केही पहल गर्नु पर्दछ भन्ने अठोट, जोस र जाँगरका साथ एउटै सोच र धारणा बोकेका केही दैलेखी युवाहरुको जमातको उपजको रुपमा स्थापित संस्था हो ।

सोसेकको कार्यकारीणी समितिमा दलित, महिला र जनजातीको बाहुल्यता रहने गरी विद्यानतः व्यवस्था गरिएको छ । संस्थाले स्थापनाकालदेखि महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला, बालबालिका, लोपोन्मूख जाती राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा विभिन्न गतिविधि गर्दै आएको छ ।

संस्थाको नाम ‘सामाजिक सेवा केन्द्र’ नामाकरण कसरी रहन गयो ?

ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडी पारीएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि कार्य गर्ने सोचका साथ संस्थाको स्थापना गरिएको हो । स्थापनाकालमा समान सोच र धारणा राख्ने साथीहरु बीच नामका विषयमा छलफल गर्दा यो सामाजिक सेवा केन्द्र (सोसेक), रावतकोट दैलेख रहन गएको हो ।

संस्था स्थापनामा सहयोग गर्ने मुख्य व्यक्तिलाई सम्झनु पर्दा क–कसलाई सम्झन चाहानुहुन्छ ?

संस्था स्थापनार्थ समान सोच र धारणा राख्ने सबैको भूमिका उत्तिकै छ । संस्था स्थापनाकालको कार्य समिति सदस्य हाल नविल बैंकका उप–कार्यकारी प्रमुख मनोज ज्ञवाली, कार्य समिति सदस्य हाल नेपाल सरकारका सहसचिव तथा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कार्य समिति सचिव हाल शिक्षा क्याम्पस सुर्खेतमा प्रध्यापनरत माधवप्रसाद तिमिल्सेन, पृथ्वी विजय सिजापति लगायत संस्था स्थापनाका बखतका कार्यसमिति पदाधिकारीहरु सहित सदस्यहरुलाई सम्झन चाहान्छु ।

संस्था स्थापनाको पहलो वर्ष के–के कामहरु भएका थिए ?

ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडी पारिएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाको सुधार गर्ने भनि त्यस समयमा संस्था स्थापना गरिएको हो । पहिलो वर्ष समुदाय स्तरमा ‘एक व्यक्ति दुई रुख अभियान’ सञ्चालन भयो । जुन यो संस्थाको पहिलो क्रियाकलाप थियो । दोस्रो वर्षमा लिंक हेल्भेटासको सानो रकम सहयोगमा कार्यक्रम सञ्चालनबाट प्रभावित भई विकास साझेदार सहयोगी संस्थासंगको साझेदारीमा संस्थाले कार्यक्रम र परियोजनाहरु सञ्चालन गर्दै संस्था २५ वर्षमा हालको अवस्थामा आइपुगेको छ ।

नेपालमा यस्ता संघ संस्थाहरु धेरै नै स्थापना भएका छन् । हुने क्रम रोकिएको पनि छैन् । तर, संस्था निरन्तरता दिन चुनौतीहरु पनि उत्तिकै छ । यो संस्था अन्य संस्थाहरु भन्दा के कारणले फरक छ ?

नेपालमा संख्यात्मक हिसाबले सामाजिक संघ संस्थाहरु धेरै स्थापना भएका छन् । हुने क्रममा छन् । जसले संस्थाका लागि जनशक्ति लगायतका श्रोत व्यवस्थापनमा ध्यान दिनुपर्दछ । सोसेकले ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडी पारिएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाको सुधारका सवालमा काम गर्ने भएकाले निरन्तर सक्रिय रुपमा कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा ग्रामिण समुदाय र सिमान्तकृत तथा लोपोन्मुख राउटे समुदायमा कार्य गरिरहेको छ ।
संस्थाले सवालमुखी, सुधारमुखी र राहतमुखी कार्य गर्ने गर्दछ । संस्थाले जसको सवाल हो उनिहरुलाई नै सक्षम बनाई उनिहरुबाटै समाधानका लागि पहल गर्ने गर्दछ । संस्थाले सवाल पहिचान, समाधानका उपाय र कार्यक्रमको निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकन सोही समुदायबाट नै गराउने र संस्थाले सहजिकरण र प्राविधिक सहयोग मात्र गर्ने गर्दछ । संस्थाले आफै कार्य नगर्ने र माध्यम मात्रै बनेर समुदायलाई नै सबल र सक्षम बनाउने नीति अनुरुप कार्य गर्दै आएको छ ।

संस्था आजकै दिन २५ वर्ष पुरा भएको छ । यहाँसम्म आईपुग्दा झेल्नु परेका चुनौती र अफ्ठ्याराहरु के–कस्ता थिए ?

संस्थाको स्थापनाकाल देखि पछिका केही वर्षहरु सहजै गईरहेको अवस्था थियो । संस्थाले समुदाय स्तरमा कार्य गर्दा सवाल (स्वास्थ्य संस्था अन्तर्गत प्रसुती सेवा विहान १० बजे खुल्ने र २ बजे बन्द हुनेलाई २४ सै घण्टा खोल्नुपर्ने सवाल) उठानका क्रममा तत्कालिन केही गाविसहरुले गाउँ परिषद्को निर्णय गरि संस्थालाई कार्य गर्न नदिनेसम्मका निर्णय गरिएको अवस्था थियो । कार्य गर्दै जाँदा नेपाल सरकारले यसलाई प्रत्येक स्वास्थ्य संस्थामा प्रसुती गृह र प्रसुती सेवालाई २४ सै घण्टा बनाई कार्यान्वयन गर्न स्वास्थ्य नीति २०६३ लागु ग¥यो । सवाल उठाउँदा केही चुनौतीहरु आईपरेपनि सरकारले नीति नै ल्यायो ।

संस्थाले कार्यक्रम कार्यान्वयन गर्ने दौरानमा विभिन्न हण्डर र ठक्कर खानु प¥यो । यसै सन्दर्भमा जातिय छुवाछुतलाई न्यूनिकरण गर्ने सवालमा गाविस र संस्थाबीच मतभेद बढ्दा २०५८ तिर तत्कालिन चामुण्डा गाविसमा वृहत सहभोज दैलेखमा पहिलो कार्यक्रम गर्न संस्था सफल भयो । जसले गर्दा संस्थाले उठाएका सवालका विषयमा समुदायमा विस्तारै जनचेतना बढ्दै जाँदा जातीय छुवाछुत तथा विभेदमा कमी आएको छ । यसै शिलशिलामा सामाजिक काम गरिरहेका बेला तत्कालिन सशस्त्र द्वन्द्वका समयमा वि.सं. २०६१ मा म नेपाली सेनाको गिरफ्तारीमा परि ६ महिना सैनिक हिरासतमा बिताएको छु । यो सबै संस्थाका लागि हो ।

कर्णालीका समुदायको नागरिकको जीवनमा साच्चिकै परिवर्तन भएको पाउनुहुन्छ त ? कर्णालीका विभिन्न समुदायका नागरिकहरुको जीवन परिवर्तन गर्न के के गर्नुपर्ला ?

संस्थाले आफ्नो स्थापनाकालदेखि समुदाय स्तरमा विभिन्न क्षेत्रहरु (बालबालिका, युवा तथा महिला अधिकार, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य सरसफाई, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार निर्माण, जलवायु अनुकूलन आदी) मा कार्य गर्दै आएको छ । संस्थाले गरेका कार्यक्रम र परियोजनाहरुले कर्णाली लगायत सुदुरपश्चिम प्रदेशका समुदायहरुको जीविकोपार्जन, शिक्षा, स्वास्थ्य सरसफाईका क्षेत्रमा परिवर्तन भएको छ । यसलाई अझ प्रभावकारी बनाउन हालका स्थानीय सरकारहरुले आफ्नो पालिकामा भएका पूर्वाधारका योजनाहरुको मर्मत र संरक्षणको जिम्मा लिई जीविकोपार्जनका, शिक्षा, स्वास्थ्य सरसफाईका क्षेत्रमा भएका सुधारलाई निरन्तरता दिन सहयोग र अनुगमन गरिदिएमा दिर्घकालिन र प्रभावकारी हुने देखिन्छ ।

संघ संस्थाहरु दातृ निकायको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । यो संस्थाको अवस्था कस्थो छ ? दातृ निकायको सहयोग बिनापनि संस्थाले सामाजिक सेवालाई निरन्तरता दिन सक्छ ?

संस्थाको आफ्नै स्रोत र साधन नहुने हुँदा विभिन्न विकास साझेदार सहयोगी निकायहरुको सहयोगमा भर पर्ने अवस्था छ । सोसेक पनि त्यो भन्दा फरक हुन् सक्दैन । र पनि हामीले संस्थाका सदस्यहरुबाट उठ्ने सदस्यता शुल्क र संस्थाले आफ्नै एक सहकारी संस्थाको स्थापना गरि आगामी दिनहरुमा आफ्नै श्रोत र स्थानीय सरकारहरुसंगको समन्वय र सहकार्यमा सामाजिक सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने सोच र योजना बनाएका छौँ ।

संस्थाको आगामी योजनाहरु के–कस्ता छन् ?

संस्थाले आगामी वर्षहरुमा कर्णाली प्रदेशमा बाल विवाहमा कमी ल्याउने, महिला हिंसा र दुव्र्यबहारमा कमी ल्याउने, विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गरि विद्यालय बाहिर रहेका बालबालिकाको संख्या कम गर्ने योजना बनाएका छौँ ।

अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?

नेपालको विषम् परिस्थितिमा स्थापना भएको संस्थाले समाजमा रहेका कुसंस्कार र कुरितिहरुको विरुद्ध सवालमुखिरुपमा जसको सवाल उसकै नेतृत्वको अवधारण लिंदै विभिन्न अभियान, पैरवी तथा क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । हुन त यस्ता सामाजिक संस्कार सजिलै र छिट्टै समाधान र सम्बोधन हुने कुरा होइन् र यसको अवधि पनि हुँदैन् । तथापी यस संस्थाले यस्ता कुसंस्कारहरुको विरुद्ध अभियानका रुपमा निरन्तर सञ्चालन गर्दै आएको छ र निरन्तरता पनि दिंदै जाने छ । सरकारी निकायले मात्र समुदाय परिवर्तन हुन सम्भव छैन् । त्यसैले हामी जस्ता नागरिक समाजका संघ संस्थाले पनि सरकारको सहयोगी हातको रुपमा काम गरि हामी आफैबाट हाम्रो समुदाय परिवर्तन गर्न सकेमा त्यो अझ बढी प्रभावकारी र दिगो हुन्छ । अन्त्यमा, जय महिला, जय बालबालिका !



Leave a comment

Your email address will not be published.


*