विश्वमा आठ अर्ब मानिस

          |   प्रकाशित मितिः बुधबार, कार्तिक ३०, २०७९     ::: 67 पटक पढिएको   |  

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार मङ्गलबारबाट विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ। गत जुलाई ११ तारिखमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको थियो। सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो। विश्व जनसङ्ख्या कोषले चार महिनाअघि सार्वजनिक  गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस् २०२२’ले विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने प्रक्षेपण गरेको छ।

औसत आयुमा भएको वृद्धि तथा घट्दै गएको शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै भएको विश्लेषण गरिएको छ। कोषका अनुसार विश्वको जनसङ्ख्या सातदेखि आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको छ। छदेखि सात अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो। अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको छ।

विश्व जनसङ्ख्यामा थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसाङ्ख्यिक विस्तारको परिणाम रहेको छ। यसमा अफ्रिकाले दोस्रो ठूलो योगदान गरेको छ। उक्त महादेशमा ४० करोड जनसङ्ख्या रहेको छ। विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा सातदेखि आठ अर्बको जनसङ्ख्या वृद्धिमा १० वटा देशले आधाभन्दा बढी योगदान गरेका छन्। यो वृद्धिमा भारतले सबैभन्दा ठूलो योगदान गरेको छ। चीन र नाइजेरियाको वृद्धिदर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको कोषले जनाएको छ।

विश्वमा अहिले सबैभन्दा बढी चीनमा एक अर्ब ४५ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा जनसङ्ख्या छ। तेस्रो अमेरिकामा ३३ करोड जनसङ्ख्या रहेको छ।

सन् २०२३ भित्रमा भारतले चीनलाई जनसङ्ख्यामा उछिन्ने प्रक्षेपण छ। अफ्रिका र एसियाले नौ अर्ब पुगुन्जेलसम्म जनसङ्ख्या वृद्धिको नेतृत्व गर्नेछन्, जुन सन् २०३७ सम्ममा पूरा हुनेछ। विश्वको कुल जनसङ्ख्याको लगभग दुईतिहाइ हिस्सा बच्चा जन्माउने क्षमताका महिलाले ओगटेका छन्। त्यस्तो देश वा क्षेत्रमा बसोबास गर्ने महिलाको बच्चा जन्माउने दर प्रतिमहिला २.१ भन्दा कम छ।

जनसङ्ख्या बढ्दै जाँदा चुनौती र अवसर दुवै थपिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या छ। gorkhapatraonline



Leave a comment

Your email address will not be published.


*