राउटेलाई भत्ता नगदमा दिन बन्द गरेर क्याम्प खडा गरि हेरचाह गर्नुपर्छ’

राउटेलाई भत्ता नगदमा दिन बन्द गरेर क्याम्प खडा गरि हेरचाह गर्नुपर्छ’

प्रस्तुति : हिक्मतबहादुर नेपाली

राउटेको अस्तित्व संकटमा पर्दैछ, यसको मुख्य कारण के हो ?

राउटे अज्ञानतासँग रमाइरहेको समुदाय हो। पछिल्ला केही वर्षयता उनीहरूको जीवनशैलीमा नकारात्मक परिवर्तनहरू देखा परेका छन्। तत्कालीन सशस्त्र द्वन्द्वपछि जंगल छाडेर अन्य समुदायको बस्ती नजिक उनीहरू बस्न थाले। उनीहरूको परम्परागत बासस्थानहरू विकासका नाममा नास हुँदैछन्। त्यसैले अन्य समुदायको बस्ती नजिक वा भनौं बजार क्षेत्र आसपासका बस्तीमा बस्न थालेका छन्।

मदिराको लतले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। यो मुख्य कारण हो। फलस्वरूप मदिराकै कारण राउटेहरू अकालमै मृत्युको मुखमा पुगेको देखिन्छ। स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको खानपान र आनीबानीले गर्दा उनीहरूको अस्तित्व संकटमा परेको देखिन्छ। अर्कोतर्फ जलवायु परिवर्तनले पनि राउटे समुदायलाई प्रभाव पारेको छ।

राउटे मदिराको लतमा कसरी फसिरहेका छन् ?

केही वर्षअघिसम्म उनीहरू बाहिरी मान्छेसँग नजिक हुन चाहँदैनथे। फोटो र भिडियो खिच्न मान्दैनथे। वस्तु विनिमय गर्थे। आफूले बनाएको काठका भाडाँकुँडासँग गाउँगाउँमा पुगेर अन्न साट्थे। त्यही अन्नले जीविकोपार्जन गर्थे। पहिले उनीहरू आफैंले घरमै बनाएको जाँड खाने गर्थे। त्यसले स्वास्थ्यमा त्यति ठूलो हानि पुर्याएको देखिँदैनथ्यो।

सुरुसुरुमा बस्तीमा पुगेर फोटो भिडियो खिच्ने र बस्तीमा विभिन्न बहानामा पुग्नेहरूले उनीहरूलाई ललाइफकाई बजारको न्यून गुणस्तरका मदिरा खान सिकाए। त्यसपछि विस्तारै मदिराको लतमा फस्न थालेको देखिन्छ। अहिले सडक सञ्जालहरूको विस्तारसँगै दुर्गम क्षेत्रसम्म अखाद्य वस्तुहरू पुगेको छ। पछिल्लो समय बजारमा पाउने मदिरा उनीहरूले अत्यधिक पिउन थालेको देखिन्छ।

मदिराको लत हटाउन के गर्नु पर्ला ?

पहिलो कुरा त सरकारले स्पष्ट नीति निर्माण गर्नुपर्छ। सामाजिक चेतनासँगै कुलतको असरहरू, स्वास्थ्यमा पुर्याउने हानिको बारेमा सन्देशमूलक कार्यक्रम अघि बढाउनुपर्छ। उनीहरूको बासस्थान क्षेत्रमा प्रहरी प्रशासनले मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्नुपर्छ।

राउटे नागरिकलाई जथाभावी मदिराजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ। राउटे बस्तीसँगै जोडिएको गाउँका स्थानीय बासिन्दालाई राउटेको पहिचान, संस्कृति र इतिहासबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ।

सामाजिक सुरक्षा भत्ता नगद पाउँछन्, यसको विकल्प के हुन हुन्छ ? 

संघीय सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन्छ। सरकारले दिने सामाजिक सुरक्षा भत्ता नगद दिन तत्काल बन्द गर्नै पर्छ। भत्ताको सट्टा मासिक रूपमा परिवार संख्या हेरेर कति मात्रामा चाहिन्छ खाद्यान्न, लत्ताकपडा दिन सकिन्छ।

उनीहरूले पाउने भत्ताबाट केही निश्चित महिनाका लागि ‘खाना शिविर’ चलाउनुपर्छ। त्यसले उनीहरूमा पोषणयुक्त खाना खाने बानीको विकास हुन्छ। यसका लागि संघीय सरकारले ठोस नीति निर्माण गर्नुपर्छ। त्यसो हुन नसके राउटे समुदायको अस्तित्व इतिहासमा मात्र सीमित हुन बेर लाग्दैन।

राउटे समुदायमा शिशुहरूको मृत्युदर उच्च छ। यसको रोकथाम कसरी गर्ने ? 

यसमा पहिलो कुरा त मदिरा सेवनको लतबाट अभिभावकलाई छुटाउनुपर्छ। अभिभावक मदिरा सेवन गरेर लठ्ठ पर्ने अनि शिशुको स्याहारमा ध्यान नदिँदा नवजात शिशुहरूले अकालमै ज्यान गुमाइरहेका छन्। त्यसपछि पोषणयुक्त खानपिनका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ। शिशु स्याहार, गर्भवती स्याहार, सुत्केरी स्याहारजस्ता सुनौला हजार दिनका कार्यक्रम राउटे बस्तीमा सञ्चालन गर्नुपर्छ।

राउटे समुदायको जीवन रक्षाका लागि के गर्नु पर्ला ?

राउटे समुदायको अस्तित्व केवल इतिहासमा मात्र सीमित रहने अवस्थालाई ख्याल गरेर तीनै तहका सरकारले विशेष ध्यानदिनुपर्छ । राउटे समुदायकालागि सोसेक नेपालले परियोजना सञ्चालन गरेर स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका क्रियाकलापहरु गरिरहेको छ । बस्तीमा जोडि शिक्षक, अहेव र अनमी खटिएका छन् । हामीले राउटे नागरिकलाई सामाजिकिकरण गर्न सचेतनामुलक केहि कामहरु गरेका छौँ तर, बस्तीमा मदिरा प्रयोगलाई रोकथाम तथा नियन्त्रणमा केहि गर्न सकेका छैनौँ । त्यसका लागि हामीसँग कुनै पनि अधिकार छैन् । सरकारले स्पष्ट नीति निर्माण गरेर मदिरा नियन्त्रणको काम गर्नुपर्छ । त्यसपछि समुदायमा स्वास्थ्य, शिक्षा, पोषण, सरसफाईका लागि आवश्यक कार्यक्रमहरुलाई ठोस रुपमा सरकारले अघि बढाउनुपर्छ ।

प्रतिक्रिया