हामीलाई भत्ता सट्टा खाद्यान्न र लत्ताकपडा दिए पुग्छ

हामीलाई भत्ता सट्टा खाद्यान्न र लत्ताकपडा दिए पुग्छ

सुर्यनारायण शाही, मुखिया राउटे समुदाय

हिजोआज के गर्दै हुनुहुन्छ ? 

के गर्नु ? इलमले बाँच्या छौं। काठका कोसी बनाउने काम आजकाल त पातलो भयो। बस्तीमा चामलको समस्या छ। भत्ता पनि नआउन्या भयो। सरकारले भत्ता रोक्न लाग्यो भन्छन्। भत्ता नआएर अहिले तनाव हुन लाग्याथ्यो। पहिला त यो भत्ता, चामल, कपडा आयाथ्यो। आजभोलि केही पनि आउँदैन भन्न खोज्या छन्। यस्तो भयो भन्देखिलाई मलाई समस्या हुन्छ।

राउटे बस्तीका ठूला समस्या के के हुन् ?
त्यही पैसाकै समस्या हो। भत्ता क्या। पेटभन्दा ठूलो त केही पनि छैन।  नखाएर पेट नअघाएर त मान्छे कसरी बाँच्छ ? यस्तो बर्बाद हुन्छ। हामीले गुराँस गाउँपालिकालाई पनि त्यही भनेका छौं। हाम्रा समस्या सुनाएका छौं।

बस्तीमा त शिशूहरूको मृत्यु हुन थाल्यो नि ? 
मर्न थालेका छन्। अब किन मरेका होलान् र, त्यही काल आएर त होला।

अस्पतालमा सुत्केरी गराएर बच्चाहरू बचाउन सकिन्छ की ?  

त्यो त सकिन्न होला। अस्पतालमा गएर सुत्केरी गराउन मेरो जनताले मान्नुपर्यो नि पहिला। त्यसका लागि त पहिला मैले मेरो जनतासँग सल्लाह गर्नुपर्छ। सल्लाह सुझाव नगरी त काम हुँदैन। मैले एक्लैले भनेर हुँदैन। एक्लैले भन्दा कसैले राम्रो मान्छ। कसैले राम्रो मान्दैन। पहिला सल्लाह गर्नुपर्छ। सल्लाह नगरी त काम हुँदैन फेरि। सल्लाह गरेपछि सबैलाई राम्रो हुन्छ।

काठका भाँडा बनाउन किन कम भयो त ? 

पुर्खादेखि त्यो कोसी बनाउँथ्यौं। आजभोलि कम भयो। काठका कोसी, खाट, मधुस र पिर्का बनाउँथ्यौं। आफूलाई चाहिएको चिज बनाउँथ्यौं। काठको सामान बनाएर गाउँमा पठाउथ्यौं। धान, गहुँ, जौँ ल्याएर खाइन्थ्यो। आजभोलि त चामल आउन थाल्यो। खान मिले त भइहाल्यो नि। संस्थाले चामल दिन्छन्। खान मिल्यो र आराम गरी बसे त रमाइलो हुन्छ। ज्यान पनि सन्चो हुन्छ। पहिला त्यो काम गर्दा धेरै दुःख हु्न्थ्यो।

आजभोलि त त्यति पसिना बगाउनु परेको छैन। पहिलाको काम छोडेपछि आजभोलि फेरि त्यही काममा लाग्न त गाह्रो हुन्छ नि। समस्या हुन्छ। आजभोलि सरकार र संस्थाहरूले चामल दिन थालेपछि त काम गर्न छाड्यौं। हाम्रो जनता आराम गरेर बसेका छन्। काम नगरेर बस्ने अवस्था ल्याएर सरकारले हामीलाई बिगारेको हो। सरकारले चामल र पैसा नदिए त हाम्रो जनता पनि दुःख गरेर
खान्थे नि।

तपाईंहरू मदिरा सेवन धेरै गर्न थाल्नुभयो। कसरी यस्तो भयो ? 
अब माघीपछि रक्सी बन्द गरिदिने सोचेको छु। माघीमा नदीमा गएर नुहाउने, हामी पनि नुहाउनु पर्यो। हजुरले पनि नुहाउँछ ? नेपाल सरकारको प्रधानमन्त्रीले पनि नुहाउनुहुन्छ होला। नुहाएर रमाइलो नाचगान गर्दै आफ्नो पुरानो खेल खेल्छौं। त्यसपछि रक्सी खान बन्द गरिदिने हो। रक्सी नखानुपर्ने हो। रक्सी खायो भने त भित्र क्यान्सर हुन्छ भन्छन्। त्यसैले माघी मनाएर रक्सी बन्द गराउने अब। अब दुई दिनसम्म जनतालाई बस्तीबाट बाहिर पनि जान नदिने हो। हामीले माघीपछि जनतालाई बाहिर जान पाउँदैनौं भनेर खबर दिएका छौं। जनताले पनि हुन्छ भन्या छन्। बरू घरकै जाँड खाने। तर, बजारको रक्सी अब नखाने। बजारको रक्सीले त हामीलाई सक्न लाग्यो।

सरकारले दिने भत्ता सबै रक्सीमै सकिन्छ हो ?
यही समस्या छ। नगद दिएपछि जनताले बजारमा गएर रक्सी खान्छन्। त्यसकारण मैले भन्दै आएको छु, अब सरकारले हामीलाई नगद होइन, चामल र कपडा दिनुपर्छ। खाना र लाउने कपडा पाए राउटेलाई अरू के चाहियो र ? लगाउने कपडा चाहियो, खाने चामल चाहियो। पैसा नै किन चाहियो ? यो कपडा लाउन पायो भने त तातो पाउँछ। राउटेमा अरू केही कारोबार हुँदैन। हाम्रा ठूला पर्वहरूमा खसी, बाख्रा र कुखुरा देऊ। यो भत्ताले त हो नि रक्सी खान थालेको।

धेरै मदिरा खाएर सुत्दा राउटेहरू आगोमा जलेका छन्, अब कसरी रोक्नुहुन्छ ? 
हो। पहिला कपिललाई त्यस्तै भयो। ऊ मेरो साला हो। आगोमा जलेर घाइते भयो। केही वर्षपछि उनको निधन भयो। अहिले फेरि नारायण जलेर घाइते भएको छ। ऊ मेरो भाइ हो। उपचारका लागि काठमाडौं लगेका छन्। त्यो आयो भने जनतालाई अब रक्सी नै खान बन्द गराउने हो। अब कोही पनि एक्लै बजार जान पाउँदैनन्। लुकेर गयो भने कारबाही पनि गर्ने हो। राउटेको कारबाही भनेको समाज बसेर जवाफ दिने। खान नदिएपछि त समस्या समाधान हुन्छ।

मुखियाले भनेको पनि टेर्न छाडेछन् नि ? 
किन मान्दैनन् ? त्यो सबै रक्सी खाएर हो। रक्सी खाएको मान्छे त बौलाउँछ नि। केही थाहा पाउँदैन। रक्सीले छोडिसक्यो भने त हात जोड्छ्। रक्सीले मेरा जनतालाई पनि अटेरी बनायो।

अचेल जंगलमा कन्दमूल पाउन छोडेको हो ?  
अहिले पाउँदैन। अचेल राउटेहरू ठूला फाँट खोजेर बस्न थालेका छन्। जंगलमा बसेको भए त पाउँथ्यो होला। जंगलमा गएपछि त कन्दमूलहरू खान मिल्छ। यता जंगल नभएको बजार, शहर बजार, नांगो ठाउँ, फाँटको ठाउँमा कन्दमूल हुँदैन। कन्दमूल हुने त जहाँ जंगल बाक्लो भयो त्यहाँ पाउँछ। त्यस्तै, यो त माथिमाथि, खोलामाथि, लेकमा पाउँछ।

अनि किन बजारको छेउछाउ बस्न थाल्नुभयो त ? 
बजार नजिक हुँदा कपडा र चामल किन्न सजिलो होला कि भनेर बस्न थालेको हो। पहिला हाम्रा धामी थिए। झारफुक गर्ने। धामी पनि मरिहाल्यो। अब एउटै धामी छ। पहिला तीन÷चार धामी थिए। कपाल दुख्यो, ज्वरो आयो, ज्यान दुख्यो, पेट, जुनै आङ बिसन्चो हुँदा धामीले झारफुक गर्थे। अहिले त अस्पतालमा गएर उपचार हुन्छ। त्यसैले हामी बजार र सडकको छेउमा बस्न थालेको हो।

पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता थियो। अहिले त पैसाकै पछि लाग्न थाल्नुभयो नि ?  
त्यो धेरै पहिलाको कुरा हो। अहिले त मान्छेको नयाँ सोच भयो। नयाँ पुस्ताले काठको काम नै गर्दैन। काम नगरेपछि खानलाई त पैसा चाहियो नि। पैसा नभएर नहुने अवस्था आयो। पैसा भयो भने त जंगल जानु नपर्ने भयो। अहिले पैसा भएपछि हातहातै बजारमा चामल किन्न पाइन्छ। पैसा भएपछि कपडा सजिलै पाइन्छ। राउटेलाई सजिलो भयो नि अहिले त।

सरकारले घर बनाइदिएमा एकै ठाउँमा बस्नुहुन्छ त ?

यो विस्तारै हुने कुरा हो। यो कुरा मैले मात्र भनेर हुँदैन। हाम्रो चलन छ, हामी मान्छे मरेको ठाउँमा दिन बिताउन सक्दैनौं। हामी बसेको ठाउँमा हाम्रो समुदायको कसैको मृत्यु भयो भने त्यो बस्ती छाडेर जान्छौं। अब सरकारले एक ठाउँमा घर बनाएपछि हामी त्यहाँ कसरी बस्ने ? यहीकारण हो, राउटले घरबास नगर्ने। मान्छे ढुंगो जस्तो होइन क्यारे। मान्छे बुढेशकाल लागेपछि त मरिहाल्छ। हजुरले मान्छे मरेपछि पोल्नुहुन्छ। हामी त यहाँबाट परसम्म लिएर खाल्डो खनेर गाड्छांै। त्यसपछि त्यो ठाउँलाई हामी हेर्दैनौं। त्यो ठाउँमा हेर्दा अर्को मान्छे पनि मर्छ भन्ने हाम्रो विश्वास छ। पुर्खादेखि मान्दै आएको राउटेको चलन हो यो। राउटेले एकै ठाउँमा बस्न सम्भव छैन। एकै ठाउँमा बसेर दिन बिताउनुपर्यो भने राउटे सकिन्छ।

  • ‘सरकारले दिने नगद भत्तााले जनता बजारमा गएर रक्सी खान्छन्। त्यसैले नगद होइन, चामल र कपडा दिनुपर्छ।’ 
  • ‘यो माघी मनाइसकेपछि म मेरा जनतालाई रक्सी खान दिन्न सधैंका लागि बन्द गर्छु। कसैले खायो भने कारबाहीमा गर्छौं।’ ‘हामी मान्छे मरेको ठाउँ फर्केर पनि हेर्दैनौं। त्यसले सरकारले हामीलाई घर बनाइदिए पनि हामी त्यो घरमा बस्न सक्दैनौं। बरु हामीलाई सरकारी र निजी दुवै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ।’
  • ‘सरकारले भत्ता दिनथालेपछि हाम्रो पुर्खौली पेसा हराउन थालेको छ।’ 

सरकारले राउटेका लागि के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? 
हिजोआज त सरकारले नै हेरेको छ। भत्ता दिएकै छ। संस्थाले चामल दिएकै छन्। सरकारले अब त्यो चामल, लुगालत्ता र कपडा दिए पुग्छ। अरू त राउटेलाई केही चाहिएको छैन। ठूला सरकारी अस्पताल गयो भने त्यहाँ पैसा लाग्दैन। तर, निजी अस्पतालमा उपचार गर्न जाँदा पैसा माग्छन्। हो त्यही भएर हाम्रो उपचार सबै ठाउँमा निःशुल्क होस्। खान, लाउन र उपचार भएपछि पुगिहाल्छ नि।

प्रस्तुति : हिक्मतबहादुर नेपाली

प्रतिक्रिया