पशुपतिदेखि दैलेखको पञ्चकोशी तीर्थयात्रा सुरू

पशुपतिदेखि दैलेखको पञ्चकोशी तीर्थयात्रा सुरू

काठमाडौ  –  पशुपति मन्दिरदेखि दैलेखको पञ्चकोशी तिर्थस्थलसम्मको यात्रा सुरू भएकोछ । आज आइतबार पशुपतिनाथ मन्दिरबाट उक्त यात्रा सुरू गरिएको हो । ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल पञ्चकोशी तिर्थस्थललाई संघीय राजधानीसँग जोड्न ‘पशुपति पञ्चकोशीको यात्रा’ सुरु भएको हो ।

मनघरी फाउण्डेशनको आयोजना तथा दुल्लु नगरपालिका दैलेख र भैरवी गाउँपालिका दैलेख,  नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली र दैलेखी सेवा समाज काठमाडौंको सहकार्य उक्त यात्रा प्रारम्भ गरिएको   हो । दैलेखको पञ्चकोशी तिर्थस्थललाई पशुपतिनाथसँग जोडेर थप प्रचारप्रसार तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन यात्रा सुरु गरिएको यात्राको परिकल्पनाकार भरतबन्धु थापाले बताउनु भयो ।

‘हामीले पशुपतिदेखि पञ्चकोशीसम्मको यात्रा तय गरेका छौँ, यो यात्राले कर्णाली प्रदेशको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउनेछ,’ थापाले भन्नु भयो ।

पशुपतिनाथदेखि पञ्चकोशी क्षेत्रसम्म यात्रा गर्दा बागमती प्रदेशको पशुपति, गण्डकी प्रदेशको देवाघाट, लुम्बिनी प्रदेशको लुम्बीनी र बागेश्वरी, कर्णालीको सुर्खेतस्थित देउतीबज्यै र काक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्र (नाविस्थान श्रीस्थान पादुका धुलेश्वर कोटीला तल्लोडुंगेश्वर) समेटिएको छ । यात्रापछि यात्राका क्रममा कैद गरिएका तस्बीर र भिडियो काठमाडौं र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदर्शनी गरिने मन्घरी फाउण्डेशनले जनाएको छ ।

पशुपतिदेखि पञ्चकोशीसम्मको यात्राले कर्णाली प्रदेश दैलेखको पञ्चकोशी क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताउनु भयो । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसावले कर्णालीमा प्रचुर सम्भावना हुँदा हुँदै प्रचार प्रसार हुन नसकेको उहाँको भनाइ छ । ‘यस क्षेत्रमा पर्यटकीय गतिविधि आशा गरे अनुसार नबढ्नुको मुख्य कारण गन्तव्यको उचित प्रचार–प्रसार नहुनु र पर्याप्त पुर्वाधार तयार नबन्नु नै हो, पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका स्थानलाई नेपाल तथा विश्व माझ थप चिनाउनु आवश्यक ठानेर यो यात्रा थालनी भएको हो,’ उहाँले भन्नु भयो ।

हिन्दुहरुको सर्वाधिक महत्वपूर्ण धार्मिक क्षेत्र पशुपतिदेखि दैलेखको पवित्र तीर्थस्थल पञ्चकोशी, कर्णालीको राजधानी तथा सिंजा क्षेत्रसम्म आन्तरिक र बाह्य धार्मिक पर्यटकहरुलाई निम्तो दिने उद्देश्यले यात्रा प्रारम्भ भएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले संघीय राजधानीदेखि कर्णाली प्रदेश जोड्न यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । दैलेखबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु सीताकुमारी राना,  अमरबहादुर थापा, दिक्पाल शाही, सुर्यकुमारी श्रेष्ठ, दिपा शर्मा, कर्णालीका सांसदहरु पूर्णबहादुर खत्री, कृष्णकुमार बिसी, जानकी सिंह, इन्द्राकुमारी शाही लगाएतले यात्रा सफलताको शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया