विद्यालय स्तरीय क्रिकेट उपाधि त्रिभुवनलाई

विद्यालय स्तरीय क्रिकेट उपाधि त्रिभुवनलाई

दैलेख- दैलेखमा आयोजित विद्यालय स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन माध्यामिक विद्यालय नयाँ बजार दैलेखले हात पारेको छ । क्रिकेट एसोसियसन दैलेखको आयोजनामा भएको विद्यालय स्तरीय प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालयको बि टिमले जितेको हो ।

शनिबार भएको फाइनल खेलमा त्रिभुवन माविकै ए टिमलाई पराजित गरेर उपाधि जितेको हो । टस जितेर ब्याटिंग गरेको बि टिमले निर्धारित १५ ओभरमा १ सय ११ रन बनाएको थियो । उसका लागि रितश खड्काले ४४ रनको योगदान दिएका थिए । खड्काको प्रेणादायी इनिंगमा बि टिमले बनाएको उच्च स्कोर पछ्याउने क्रममा मैदानमा आएको ए टिमको सुरुआत खराब रह्यो निरन्तर विकेट गुमाएको ए टिम १४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।
आफ्नो टिमलाई फराकिलो अन्तरले जित दिलाउने क्रममा ब्याटिंगमा चम्केका खड्काले ४ विकेट लिए । उनको अलराउण्ड प्रदर्शनले बि टिमलाई उपाधि दिलाएको हो । सनराईज इंग्लिस बोर्डिंग स्कुललाई पराजित गरेर फाइनलमा पुगेको ए टिम र सनराईजलाई नै पराजित गरेर फाइनलमा पुगेको बि टिमबीच उपाधि भिडन्त भएको थियो । उपाधि विजेता टिमले नगद ५ हजार र कप पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा नारायण नगरपालिकामा रहेका ४ वटा निजि विद्यालय र ३ वटा सामुदायीक विद्यालयका टिम सहभागी थिए ।
प्रतियोगिताका खेलहरु नारायण क्याम्पसको चौर र काँडाचौरमा भएका थिए । प्रतियोगिता समापनपछि क्रिकेट एसोसियसन दैलेखका अध्यक्ष खेमराज थापाले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । उनले दैलेखमा खेलप्रति रुची बढेकाले पनि आयोजना गर्न सम्भव भएको बताए । उनले चौर नहुँदा भने प्रतियोगिता आयोजना गर्न कठिनाई भएको बताए ।

प्रतिक्रिया