शैक्षिक विकास लागि प्रधानाध्यापकहरुले इच्छाशक्तिका साथ काम गर्न आग्रह

शैक्षिक विकास लागि प्रधानाध्यापकहरुले इच्छाशक्तिका साथ काम गर्न आग्रह

दैलेख – नारायण नगरपालिकाका कार्यवाहक मेयर जनक न्यौपानेले शैक्षिक विकास लागि प्रधानाध्यापकहरुले इच्छाशक्तिका साथ काम गर्न आग्रह गर्नुभएको छ । ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ सम्वन्धमा प्रधानाध्यापकका लागि समीक्षात्मक बैठकमा उहाँले विद्यालयको प्रशासनिक नेतृत्व गरिरहेका प्रधानाध्यापकले इच्छाशक्ति काम गरे अरु शिक्षकहरु परिचालन गर्न सजिलो पर्ने चर्चा गर्नुभयो ।

यूनिसेफको सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुर र सेतो गुराँस बाल विकास सेवा दैलेखको सहजीकरणमा नारायण नगरपालिकाले आइतबार दैलेख सदरमुकाममा सञ्चालन गरेको बैठकमा सेतो गुराँसको परियोजना छँदा सिकेको ज्ञान, सीप परियोजना सकिएपछि पनि शिक्षकहरुले बालविकास केन्द्रका बालबालिकालाई उस्तै प्रेरित गर्न सक्नु पर्ने बनाउन कार्यवाहक मेयर न्यौपानले सुझाव दिनुभयो ।

त्यसबखत नारायण नगरपालिकाका शिक्षा शाखा इञ्चार्ज पूर्णप्रसाद उपाध्यायले बालबालिकाको शिक्षामा गरिएको लगानीले देशेको उज्ज्वल भविष्य बनाउन सक्ने असल कर्णधार उत्पादन हुन सके दिगो प्रतिफल प्राप्त हुने बताउनुभयो । ‘सेतो गुराँसको परियोजनाले पनि केही मद्दत गरिरहेको छ, नगरपालिकाले पनि सक्दो जति शिक्षामा लगानी बढाएकै छ तर शिक्षकहरुको मेहनत पुगेको छैन’ उहाँले भन्नुभयो ।

त्रिभुवन माविका प्रधानाध्यापक निरक तारामी, नेपाल राष्ट्रिय शिक्षक संगठनकी जिल्ला अध्यक्ष पुष्पाकुमारी थापा सिजापति, सेतो गुराँस बाल विकास सेवा दैलेखका अध्यक्ष गीता बस्याल, शिक्षा शाखाका प्रास सूर्यलाल पाण्डेले अभिभावक शिक्षा महत्व र बालविकास शिक्षकको भूमिका विषयमा बोल्नुभएको थियो ।

नारायण नगरपालिका क्षेत्रका ४३ विद्यालय मध्ये बालविकास केन्द्र सञ्चालन गरिरहेका ३८ विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको बैठकमा शिक्षकहरुका लागि प्रारम्भिक बालविकास, अभिभावक शिक्षाको महत्व, सहजीकरण विधि, प्रक्रिया र शिक्षाप्रति जागरुकता निम्ति स्थानीय ज्ञान, सकारात्मक चलन, समस्याको बिश्लेषण, प्रभावकारी शिक्षा संकल्प विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान सवालमा सेतो गुराँस बाल विकास सेवा दैलेखका सहजकर्ताहरु राधा मल्ल र लली बाह्रघरेले सहजीकरण गर्नु भएको थियो ।

यूनिसेफको सहयोगमा सेतो गुराँसद्वारा सञ्चालित ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ले बालविकास शिक्षा सिकाई प्रभावकारितामा काम गर्दै आएको छ ।

प्रतिक्रिया