शान्ति सुरक्षा लागि नागरिक सहयोग आवश्यक : शर्मा

शान्ति सुरक्षा लागि नागरिक सहयोग आवश्यक : शर्मा

दैलेख – प्रतिनिधिसभाका पूर्वसाँसद रबिन्द्रराज शर्माले शान्ति, सुरक्षा र अमनचैनका लागि नागरिकहरुले पनि आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ । सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला सदरमुकाममा आयोजना गरेको नारायण नगर स्तरीय कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सो विचार राख्नुभएको हो ।

पूर्वसाँसद शर्माले कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियानले नागरिक र प्रहरीबीच सम्वन्ध प्रभावकारी बनाउने यसले नागरिकहरुको सुरक्षा प्रत्याभूती गराउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियानले लुकेका घटनाहरु उजुरी प्रक्रिया आउने र अपराध नियन्त्रणमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले अभियानले प्रहरीले थेग्न नसक्ने गरी सूचना र सिकायतको संख्या बढ्ने औल्याउदै फोनको जवाफदेहिता बढाउन प्रहरीलाई सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी हमालले अभियानको प्रचारप्रसारमा पत्रकारहरुको सहयोग चाहिएको बताउनुभयो ।

दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले महिला, बालबालिका र ज्येष्ठ नागरिक माथि हुने हिंसाका घटनामा शून्य सहनशीलताको नीति प्रभावकारी बनाइँदै लिइने बताउनुभयो । उहाँले दैलेखमा २८ वटा प्रहरी इकाई मार्फत ५४ हजार घरधुरीमा स्टीकर टाँस्ने र घरघरको बिवरण ल्याउने योजना रहेको सुनाउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले ‘सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियान २०८०’ नाम दिई सञ्चालन गरिएको यो कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लाका तीन लाख ७१ हजार घरधुरीमा पुग्ने बताइएको छ ।

अपराध र विपदको समयमा प्रहरी तथा नागरिकबीच छिटो सूचनामा पहुँच बढाउने, प्राप्त सूचनाका आधारमा अपराध नियन्त्रणमा प्रभावकारिता बढाउने, अपराधी पक्रन र पीडितको न्याय छरितो बनाउन, नागरिकहरुको सुरक्षा प्रत्याभूती बढाउने अभियानको मुख्य उद्देश्य राखिएको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल ०७९ माघ दोश्रो साता कर्णाली प्रदेशको इञ्चार्जको रुपमा आए लगतै कर्णाली बिशेष सुरक्षा अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । ‘भूबनौट र सञ्चारको व्यवधानको बढाएर नागरिक र प्रहरीबीच सहज सूचना सम्वन्ध स्थापना गर्न डीआईजी सा’वले अभियान कार्यान्वयनमा ल्याउनुभएको हाे’ कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एसपी नान्पीराज गुरुङ्गले भन्नुभयो ।

प्रतिक्रिया