राउटे बालबालिकालाई खोप समेट्नु जरूरी

राउटे बालबालिकालाई खोप समेट्नु जरूरी

दैलेख – प्रतिनिधिसभाका पूर्व साँसद रबिन्द्रराज शर्माले राउटे बालबालिकालाई पनि खोप लगाउनुपर्ने सुझाव समय सापेक्ष र सही रहेको बताउनुभएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले पूर्णखोप दिगोपन तथा निरन्तरता घाेषणासभा कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

पूर्व साँसद शर्माले औषधिमा बिश्वास नगर्ने राउटे समुदायका बालबालिकालाई पनि खोपमा समेट्नुपर्ने  राम्राे सुझाव हो तर राउटे समुदायलाई आफ्ना नागरिक भन्ने गरेको गुराँस गाउँपालिकाले यसमा सम्वेदनशील हुन पर्ने औल्याउनुभयो ।

त्यस बखत जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले पूर्णखोप कार्यक्रमलाई प्रभावकारी बनाउन ग्रामीण खोप कार्यकर्ताहरुमा महिलाहरु परिचालन गर्न सके उपयुक्त हुन् सुझाव दिनुभयो । खोपबाट कोही बालबालिका नछुट्ने गरी अनुगमन पद्धतिलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले दैलेखका ११ पालिकाका ९० वडाका ५६ स्वास्थ्य चौकी र २९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र दुई यस ६३ खोप केन्द्रबाट गएको जेठसम्म ३६ हजार पाँच सय ९१ जना बालबालिकालाई खोप दिइएको जानकारी दिनुभयो ।

रेग्मीले जन्मेदेखि १५ वर्ष उमेर समूहका खोप लगाउनुपर्ने उमूर समूहका पूर्णखोपमा २१ जना र आंशिक तर्फ तीन सय ७७ नना बालबालिका छुटेकामा खोजपड्तालबाट पत्ता लगाई खोप दिइएको बताउनुभयो । जेठ महिनाको दोश्रो सातादेखि असार पहिलो साता अवधिमा दैलेखका सबै पालिकामा पूणखोप निश्चितता घोाषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा २०३४ सालमा विफर उन्मूलन खोपको महत्व र स्वस्थ्य सुरक्षाको आवश्यकता शिक्षासंग अभियानको रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन् । क्षयरोग, भ्यागुते, लहरेखोजी, धनुष्टंकार, हेपाटाइटिस, झाडापखाला लगायत १३ प्रकारका प्राणघातक रोगबाट बच्न खोप दिइन्छ ।

बालबालिका र गर्भवती महिला समेतलाई दिइने खोपले वयस्क भएपछि स्वस्थ रहने गरेको विभिन्न परीक्षणबाट पुष्टि भएकोले सरकारले जनस्वास्थ्य सुरक्षा रणनीति अन्तरगत पहिलो प्राथकिताका साथ खोप कार्यक्रमहरु सञ्चालन गरिएको दैलेख अस्पताल प्रमुख डा. धर्मराज रेग्मीले चर्चा गर्नुभयो ।

दैलेखमा २०७१ वैशाख १४ गते साविक लाँकुरी गाविसबाट थालिएको पूर्णखोप अभियानको क्रममा २०७४ असार ४ गते दैलेख जिल्लालाई कर्णाली प्रदेशकै पहिलो जिल्लाको रुपमा पूर्णखोप युक्त जिल्ला घोषणा गरिएको थियो ।

पूर्णखोप युक्त जिल्ला घोषणापछि पनि यसको दिगोपन, सुनिश्चितता र निरन्तरताको अवस्था बारे जिल्ला खोप समन्वय समितिले हरेक वर्ष आर्थिक वर्षको अन्तमा समीक्षा गर्दै आएको छ । बालबालिकाले पाउनपर्ने खोप पाए नपाएको अवस्था र पूर्णखोप सुनिश्चितता प्रभाकारिताका निम्ति समीक्षा गरिन्छ ।

कोरोना महामारीका कारण अघिल्ला तीन वर्षमा पूर्णखोप कार्यक्रम दैलेखमा ९६ प्रतिशत रहेको तर अहिले सुधार भएको बताइएको छ । दैलेखमा बालबालिका समेत लिई भारतमा मजदूरी गर्न जाने कारणले पूर्णखोपलाई सत प्रतिशत पु¥याउन चुनौती रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया