भैंसीले च्यापिएर वडासचिवको मृत्यू !

भैंसीले च्यापिएर वडासचिवको मृत्यू !

दैलेख – बनमा चराउनका लागि लैजाँदै गरेको भैंसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैंसीको जिउले च्यापिएर दैलेखमा एक जनाको मृत्यू भएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका–१० का वडासचिव ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यू भएको प्रहरीले जनाएको ।

घरबाट खेत तर्फ लैजान लागेको भैंसी साँघुरो बाटोमा झण्डै लोट्न लागेको बेला काँध थाप्न लाग्दा भैंसीको पूरै जिउले च्यापेर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यू भएको दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

राँगन रोगका कारण खुट्टा टेक्न अलि कमजोर रहेको भैंसीलाई सजिलो गरी कान्लाबाट ओराल्न संगै मद्दत गर्नुभएका चक्रका भतिज प्रकाश कटुवालले भन्नुभयो ‘भैंसी लोट्नै लाग्यो छोडिदिनुस् भन्दा पनि थाम्न खोज्दा उहाँको जिउँमा भैंसी प¥यो ।’

प्रकाशले घटना सुनाउनुभयो ‘भैंसीले च्यापेपछि उहाँ जोड चिच्याउनुभयो, भैंसी तत्काल उठेर आरामसंग हिड्यो तर काका उठ्न सक्नुभएन । हामीले उठाएर अस्पताल ल्याउदै गर्दा बाटोमा छाति दुख्यो भन्नुभएको थियो ।’

मृतक वडासचिव कटुवालको दैलेख अस्पतालमा पोष्ट मार्टम गरिएको छ । भैंसीको जिउले छाति र पेटमा थिचेको कारण पेटको आमाशय फुटेको र छातिमा पनि ज्यादै असर परेर उहाँको ज्यान गएको उपचारमा संलग्न डा. प्रयासराज सिजापतिले जानकारी दिनुभयो ।

नारायण नगरपालिका–४ साेतका स्थानीय बासिन्दा मृतक वडासचिव कटुवालका एक श्रीमति नन्दा कटुवाल (४१), दुई छोरीहरु कबिता कटुवाल (२२), कृष्णा कटुवाल (१५) र एक छोरा उत्तम कटुवाल (१८) हुनुहुन्छ । जेठी छोरी दुई वर्ष अघि विवाह गरिसक्नुभएको बताइएको छ ।

प्रतिक्रिया