सिर्जनामा अंकुश लगाउनु हुँदैन : निश्चल बस्नेत
निश्चल बस्नेत, नयाँ पुस्ताले मात्र होइन पुरानो पुस्ताले समेत मानिआएका चलचित्र निर्देशक । उनले निर्देशन गरेको चलचित्र ‘लुट’ ले नेपाली चलचित्रको निर्माण शैलीमै प्रश्नचिन्ह लगाइदियो। ‘लुट’ प्रदर्शन भएको तीन वर्षपछि उनले निर्देशनको चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ पनि सफल ठहरियो । निर्माताका रूपमा चलचित्र ‘कबड्डी’ बाट पनि आफूलाई प्रमाणित गरिसकेका निश्चलको ‘कबड्डी कबड्डी’ र ‘तान्द्रो’ निर्माणाधीन छन्। नेपाल चलचित्र विकास बोर्डमा चलचित्र निर्माता राजकुमार राई अध्यक्ष नियुक्त भएलगत्तै चलचित्र निर्माणसम्बन्धी केही नियम लागू गरिएको छ। उक्त निर्णयप्रति निश्चल बस्नेत तथा उनका समकालीन चलचित्रकर्मीहरू असहमत छन्। यही विषयमा केन्द्रित रहेर साप्ताहिकका लागि सुव्रत आचार्यले निर्देशक बस्नेतसँग गरेको कुराकानी :
निर्देशक बन्न दसवर्षे अनुभव अथवा फिल्मसम्बन्धी औपचारिक अध्ययन नै चाहिने भयो होइन ?
यो त उड्न लागेको पन्छीको पखेटा काटेर उसको उड्न पाउने अधिकारमा कैची चलाए जस्तो भयो। फिल्म सिर्जनात्मक अभिव्यक्ति हो। सिर्जनशील व्यक्तिहरू नै निर्देशक भएर आएको पाएको छु। फेरि फिल्म सोचले बन्छ, त्यो सोच अध्ययनबाट आउँछ वा अनुभवबाट वा अरू कुनै स्रोतबाट त्यो कसैले भन्न नसक्ने कुरा हो।
निर्माता बन्ने नियम छ त्यो नि?
गडबडी त्यही नै भएको छ। चलचित्र बनाउन आउने हरेक नयाँ निर्मातालाई परामर्श दिँदै निर्माता बन्न जान्नुपर्ने यथार्थहरू बुझाइदिए टन्टै साफ हुने थियो। यसरी कडा ढंगबाट रोक लगाउनै पर्दैनथ्यो।
केही समयअघि चलचित्र बुझेका अनुभवी व्यक्तिहरू नै विकास बोर्डमा गएकाले तपाईं उत्साहित भएको कुरा गर्दै हुनुहुन्थ्यो होइन?
उत्साहित त अझै पनि छु। पछिल्ला केही निर्णय चित्त नबुझेको हो। उहाँहरूबाट समग्रमा सबै चलचित्रकर्मीको हितमा कार्य गरिन्छ र निर्णय सच्याइन्छ भन्ने आशामा छु।
विकास बोर्डले लागू गरेको निर्णयका विषयमा तपाईंको धारणा के छ?
एक-दुईवटा मापदण्ड जे निस्किए, ती गलत भएर नै यस्तो विवाद चर्किएको हो। अझ थाहा नपाइएको अरू निर्णयहरू पनि छन रे। त्यसमा के–के छ, त्यो सबै थाहा पाउन पाए स्पष्ट रूपमा धारणा व्यक्त गर्न सकिन्थ्यो। त्यो निर्णयको प्रतिलिपी खोज्न म विकास बोर्ड पनि पुगेँ, तर पाइनँ।
निर्णय त लागू भएकै छैन भन्ने पनि सुनिन्छ?
विकास बोर्डको वार्षिकोत्सव कार्यक्रममा उक्त नियम लागू भैसकेको कुरा अध्यक्ष राजकुमार राईले नै बताउनुभएको थियो। मैले व्यक्तिगत रूपमा पनि विकास बोर्डमा पुगेर बुझ्दा निर्णय असार १ गतेबाट लागू भैसकेको जवाफ आयो। यसबाट मैले कसैसँग सल्लाह नगरी एकतर्फी निर्णय भएको कुरा बुझेँ।
तपाईंले जति थाहा पाउनुभयो त्यसअनुरूप के-के रहेछ त निर्णयमा?
अचम्म नै त्यही छ कि निर्णय र मापदण्डमा के–के छ भन्ने थाहा नहुँदै लागू पनि भैसक्यो र अब संशोधन पनि हुँदैछ भन्ने कुरा जानकारीमा आएको छ। अब के–के छ? चलचित्र स्तरीय बनाउने प्रश्न उठाएर कस्ता–कस्ता नियम बनाएर हामीमाथि बन्देज लगाइँदैछ? बिस्तारै थाहा हुँदै जाला, तर मेरो एउटै भनाइ छ कि सिर्जनामा अंकुश लगाउनु हुँदैन।
निश्चल बस्नेत त्यो मापदण्डभित्र पर्छन् त?
चलचित्र बनाउने र बनाउँछु भनेर सोच्ने सबै यो मापदण्डभित्र पर्छन्। त्यसकारण म पनि पर्छु।
भनेपछि अबदेखि निश्चल बस्नेतले चलचित्र निर्देशन गर्न र निर्माण गर्न पाउँदैनन्?
थाहा भएको एउटा नियमले चाहिँ पाउँदिनँ भन्ने नै लागेको छ।
कुन नियम?
एउटा चलचित्र सेन्सर नगरी अर्को चलचित्र दर्ता गर्न नपाइने नियम पनि बनेको रहेछ। मेरै ब्यानरमा बनेको ‘तान्द्रो’ सेन्सर नभएकाले अर्को दर्ता गर्न नपाउने भनी मलाई फिर्ता पठाइयो। त्यो त मैले थाहा पाएँ, अरू पनि नियम आउँदैछ भन्ने सुनिरहेको छु।
तपाईंहरू विरोधमा उत्रिनुभएको हो?
यसलाई विरोधका रूपमा नलिएर अलग किसिमको सोचाइ पनि छ भन्ने कुरा बुझाउने प्रयासका रूपमा बुझिदिनुहोला। यो विरोध होइन।
तपाईंका केही समकालीन युवा चलचित्रकर्मीहरू फेसबुकमा उर्लिएर विरोध गरिरहेका छन्, भेला पनि गरिसके। तपाईं त्यसलाई किन विरोध मानिरहनु भएको छैन?
हरेक पटक कुनै नियम चित्त नबुझेकोमा हामीले विरोध गरेकै हो। हामीले सधैं विरोधभन्दा पनि विषयवस्तुलाई सही ढंगले बुझिदिन आग्रह गरेका हौं। सधैं हरेक कुराको विरोध गरेर मात्र पनि समस्या समाधान हुँदैन।
यसरी चलचित्र क्षेत्रमा भएको एउटा विवादलाई सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा आम मानिसमा नकारात्मक असर पनि त पर्छ होला नि?
नकारात्मक असरभन्दा पनि चलचित्र क्षेत्रमा अहिले के भैरहेको छ भन्ने कुरा दर्शकहरूलाई जानकारी भएको राम्रो मान्छु म। दर्शकहरूबाटै भोलि कोही चलचित्र निर्माता बनेर पनि आउन सक्छन्। यसले जनचेतना बढाउने कार्य पनि गर्छ।
यो निर्णयलाई बदर गर्न लागि रहनुभएको हो त?
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छौं। यो कुरालाई छलफल गरेर नै टुंगो लगाउनुपर्छ भन्ने कुरा उहाँले गर्नुभएको छ। हामी उहाँप्रति आश्वस्त छौं। उहाँ प्रजातान्त्रिक विचारधारा बोक्ने व्यक्तित्व हुनुभएकाले हाम्रो प्रजातान्त्रिक हक र अधिकार हनन हुन दिनुहुन्न भन्ने लागेको छ।
यो निर्णयले गर्दा नयाँ र पुराना तथा चलचित्र क्षेत्रमा आउन खोजेकाहरूबीच खटपट चलिरहेको छ भनिन्छ, यो के हो?
यत्रो ठूलो बहस हुनु, सबैले आ–आफ्नो धारणा व्यक्त गर्नु सकारात्मक छ, यसमा कोही आक्रोशित हुँदै, कोही संयमित भएर आ–आफ्नै तरिकाले बहस गरिरहेका छन्। सम्भवत: सबैले भन्न खोजिरहेको कुरा एउटै छ कि राम्रा चलचित्र बन्न के गर्न सकिन्छ? यो लेबलमा यसरी बहस हुनुलाई म राम्रो कुरा मान्छु। विकास बोर्डले यो निर्णय गर्नुभन्दा अघि चलचित्रकर्मीहरूसँग परामर्श लिनुपथ्र्यो। लिएको पनि थियो कि थाहा भएन तर पछिल्लो पुस्ताका चलचित्रकर्मीहरूलाई निर्णय कार्यान्वयन हुनु अगावै थाहा हुनुपथ्र्यो, तर यो विषयमा कसैलाई थाहा नभएको पाएँ। यसबाट नयाँ सोच र सिर्जनशीलता बोकेका नयाँ चलचित्रकर्मीहरूलाई घात गरिएको हो कि वा वास्ता नै नगरिएको हो बुझ्न सकिएन।
पछिल्लो पुस्ताका चलचित्रकर्मीहरूले पुरानो पुस्तालाई सम्मान नगरेको कुरा पनि त आयो नि?
उमेरका हिसाबले पनि सम्मान त गरिरहेकै छौं। कामका हिसाबले पनि प्रशंसा गरिरहेकै हौ। अब सम्मान कहाँ पुगेन, त्योचाहिँ थाहा भएन। सधैंभरि उहाँहरूले भनिरहेकै कुरा मात्र सही हुन्छ भन्ने हुँदैन। नयाँ सोच, नयाँ विचार पनि त आउनु पर्यो नि । राम्रा लागेका कुराहरूमा सधैं साथ दिन्छौं र दिइरहेका पनि छौं, तर चित्त नबुझेको कुरा व्यक्त गर्दा सम्मान नगरेको भनेर बुझिदिनु भएन।
-साप्ताहिकबाट
प्रतिक्रिया