सुर्खेतमा पनि ‘मानव सेवा आश्रम’

सुर्खेतमा पनि ‘मानव सेवा आश्रम’

सुर्खेत–कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘मानव सेवा आश्रम’ स्थापना गरिएको छ। सहयोगापेक्षी मानिसरहित मुलुक बनाउने अभियानसहित जुटेको मानव सेवा समाजको पहलमा स्थापना गरिएको आश्रमको बिहिबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन्।

वीरेन्द्रगनर नगरपालिका, सामाजिक विकास मन्त्रालयलगायतका निकायले अभिभावकत्व गर्नेगरी आश्रमको स्थापना गरिएको हो।आश्रम स्थापनापछि यस क्षेत्रमा मागेर जीवन निर्वाह गरिरहेकाहरूलाई आवासको व्यवस्था गरिने छ। नेपालका विभिन्न क्षेत्रमा सडक, पेटीमा बसेर मागेर जीवन विताइरहेकाहरूलाई आवाससहित उनीहरूको हेरचाह आश्रमले गर्ने छ।

१२ जिल्लामा १४ वटा मानव सेवा आश्रम रहेका छन्। ती आश्रमहरूमा सात सय मानिसले आश्रम लिइरहेको संस्थापक डा.गोविन्द टण्डनले बताए। ती मानिस आश्रम आउनुअघि मागेर जीवन निर्वाह गरिरहेका थिए। सुर्खेतस्थित विभिन्न निकाय तथा व्यक्तिको सहयोगमा आश्रमको स्थापना गरिएको हो। आश्रम स्थापनाका लागि विभिन्न व्यक्तिहरूले आ–आफ्नो तर्फबाट नगदसहित अन्य सहयोग गरेका छन्। आश्रम वीरेन्द्रनगर–१२ मा रहेको २४ कोठे घरमा स्थापना गरिएको छ।

उक्त आश्रममा हाल २ जनालाई प्रवेश गराइएको छ। सडकमा बसेर मागेर जीवन निर्वाह गरिरहेका दैलेखकी ज्येष्ठ नागरिक लक्ष्मी रेग्मी र कोहलपुरका एक बालकलाई आश्रममा लगिएको हो। कर्णाली प्रदेशका विभिन्न स्थामा रहेर मागेर जीवन गुजारिरहेकाहरूलाई खोजेर आश्रममा लगिने बताइएको छ।

प्रतिक्रिया