श्रीमति हत्याका अभियुक्तलाई जन्मकैद

श्रीमति हत्याका अभियुक्तलाई जन्मकैद

दैलेख फागुन २७ । दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको छ । श्रीमतिको हत्या गरेको ठहर गर्दै बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्य जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आइतवार उक्त फैसला भएको हो ।
२०७४ साउन २ गते कान्छी श्रीमति त्यसबेला ५६ वर्षकी हरिकला बस्नेतलाई कुटपिट गरी ज्यान गइसकेपछि बार्दलीमा झुण्ड्याएको भन्ने प्रहरी अनुसन्धान, शरीरमा घाउचोट देखिएको रंगीन फोटो र बिशेषज्ञ चिकित्सकको प्रतिवेदनबाट अभियोग पुष्टी भएको फैसला उल्लेख गरिएको छ ।
झुण्डिएर ज्यान गएको भन्ने दैलेख जिल्ला अस्पतालको पोष्टमार्टम रिपोर्ट र दलबहादुरले हत्या गरेको आरोप अस्वीकार गरे पनि घटनास्थमा खिचिएको रंगीन फोटो, टेलिफोन सम्वादको कल रेकर्ड र विधिविशान प्रयोगशालाको बिशेषज्ञ चिकित्सकको प्रतिवेदनले हत्यापछि झुण्ड्याइएको खुल्न आएको फैसलामा व्याख्या गरिएको छ ।
घटनामा दलबहादुर बस्नेतकी जेठी पत्नी ५७ वर्षीया रामसरा बस्नेतको समेत संलग्नताको आरोप लगाइए पनि अदालतले उनको संलग्नता नपाइएको भन्दै सफाई दिएको छ । प्रहरी अनुसन्धानको क्रममा २४ दिन हिरासतमा बसे पनि थुनछेक बहसपछि नै रामसरालाई तारेखमा छोडेको थियो । दलबहादुर भने पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

प्रतिक्रिया