११ वटै स्थानीय तहमा जाति तथा रंगभेद विरुद्धको दिवस

११ वटै स्थानीय तहमा जाति तथा रंगभेद विरुद्धको दिवस

दैलेख फागुन २७।
दैलेख जिल्लाका ११ वटै स्थानीय तहमा जाति तथा रंगभेद विरुद्ध दिवस मनाईने भएको छ । हरेक बर्ष चैत्र ७ गते अर्थात तदनुसार २१ मार्चका दिन मनाइने अन्तराष्ट्रिय जाति तथा रंगभेद विरुद्धको दिवस यस बर्ष दैलेखका ११ वटै स्थानीय तहमा मनाउन लागिएको हो ।
शनिवार दैलेख सदरमुकामम बसेको तयारी बैठकले दलित नागरिक समाजका अगुवाहरुको समेत सहभागितामा दिवस मनाउने निणर्य गरिएको छ । स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा चैत ७ गते मनाइने सो दिवस मनाउन सबै स्थानीय तहलाई आग्रह गर्ने निर्णय समेत गरिएको स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखका संयोजक दिनेश विकले बताउनुभयो ।
जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिका, दुल्लु, चामुण्डाविन्द्रासैनी, आठबीस नगरपालिका, गुराँस, डुङ्गेश्वर, भगवतीमाई, नौमूले, महाबु, भैरबी, ठाटीकाँध गाउँपालिकाको केन्द्रमा विविध कार्यक्रम गरि दिवस मनाउने तयारी गरिएको संयोजक विकको भनाई छ ।
दिवस मनाउन आयोजित तयारी बैठकमा प्रतिनिधिसभाका सदस्य सदस्य पार्वती बिशुन्केले पहिले आत्मजागरणको चेतनापछि दलित समुदायको आर्थिक उपार्जनको काममा अग्रसर गराउनुपर्ने आवश्यकता दर्शाउनुभएको छ । तयारी बैठकमा साँसद बिशुन्केले भन्नुभयो ‘दलित समुदायको सशक्तिकरणमा दलित जनप्रतिनिधि र दलित अगुवाको इमान्दार प्रयास हुनुपर्छ ।’ सोहि अबसरमा नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश सदस्य गोपाल नेपालीले स्थानीय तहहरुले लक्षित कार्यक्रममा दलितका समस्यालाई कम महत्व दिएको टिप्पणी गर्नुभयो ।
नेपाल मजदूर किसान पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिकले सदियौंदेखि जातीय विभेद र आर्थिक शोषणमा परेको दलित समुदायको राजनीतिक सचेतना जगाउन जरुरी रहेको बताउनु भयो । स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखका संयोजक दिनेश बिकले पुरानै शासन शैली र राज्य संयन्त्रका कारण दलित समुदायले अपेक्षा गरेका अनुसार काम गर्ने वातावरण नभएको टिप्पणी गर्नुभयो । उहाँले जनप्रतिनिधिको आफ्नो भूमिका र दक्षता अनुसार केही उपलब्धी प्राप्त भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया