चेक साट्न राउटे पुगे बैंक

चेक साट्न राउटे पुगे बैंक

हिक्मत बहादुर नेपाली
सुर्खेत फागुन २९ ।

सुर्खेत, लेकबेसी नगरपालिका –१ भेरी नदि किनारमा राउटे समुदायका केहि बालबालिकाहरु खेल्दै भने केहि बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवा युवतीहरु कुकाठ लिन जंगलको यात्रा तय गर्दै थिए । केहि जंगल पुगिसकेका थिए भने केहि जंगल तर्फ जाने तयारीमा । समुदायका बृद्धबृद्धाहरु पारिलो घाममा चिरचिर पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहरा भित्र आफ्नै भाषामा गफिदै थिए । समुदायका पाँच जना अगुवा भने सुकिला मुकिला कपडा सहित कतै जाने तरखर गर्दै थिए । समुदायका तीन जना मुखिया, महामुखिया र एक जना युवा सहित समुदायका अगुवाहरु अन्त कतै नभएर कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत जाने तयारीमा लागेका हुन् ।
एकैछिनमा जीप चढे र विरेन्द्रनगर सुर्खेत तर्फ लागे । उनिहरु सरासर मेघा बैंक शाखा सुर्खेतमा पुगे । बैंकमा पुगेर पाँचै जना लाइनमा उभिए । पालैपालो बैंकबाट चेक साटेर भुक्तानी लिए, त्यसपछि पाँचै जना फर्किए । समुदायका पाँच जना अगुवाले जागरि खाएपछि पहिलो महिनाको तलब थाप्न बैंक पुगेका थिए । त्यसअघि सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हीरासिंह थापाले उनिहरुलाई तलब बापतको चेक हस्तान्तरण गर्नुभएको थियो । उनिहरुले फागुन महिनाको तलब लिन बैंक पुगेका हुन् ।

फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाती राउटे समुदायका मुखियाहरुले यहि फागुन ११ गते पहिलो पटक जागिरको नियुक्ती पत्र बुझेका थिए । विशेष गरी नेपालका तीनवटा प्रदेशका वन जंगलमा बसोबास गर्दै आएका समुदायका महामुखिया महिन बहादुर शाही, मुखियाहरु सुर्यनारायण शाही, दिल बहादुर शाही र विर बहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो । एईआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनिहरुलाई जागिर प्रदान गरिएको थियो ।
राउटे समुदाय वसोवास गरिरहेको स्थानमा राउटे पारासामाजिक कार्यकर्ताको पदमा रहि समुदाय परिचालन, अन्य समुदायसँग समन्वय र सहकार्य गर्दै सशक्तिकरण गर्न समुदायका महामुखिया र मुखिया सहित पाँच जनालाई राजगारी दिइएको थियो । ती पाँचै जनाले समुदायमा बालबालिकालाहरुलाई औषधि खुवाउन र व्यक्तिगत सरसफाईमा लाग्न उत्प्रेरित गराउन, समुदायमा वाल क्लव, महिला समूह र युवा समुह गठन गर्न सहयोग तथा सहजीकरण गर्ने, जोखिम तथा कुपोषित राउटे बालवालिकालाई पोषणयुक्त लिटो खुवाउन सहयोग गर्ने सोसेकका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो ।

उहाँका अनुसार राउटे नागरिक बिरामी परेका र चोटपटक लागेका राउटे समुदायलाई उपचार गर्न सहयोग तथा सहजीकरण गर्ने, राउटे समुदाय बसेको सामुदायिक वन संरक्षणको लागि सकेसम्म थोरै क्षति हुने गरि आफ्नो सिपको प्रयोग गरि सामाग्री निर्माण गर्न सहजीकरण गर्नेगरी जागिर दिइएको थियो । यस्तै आफु बसोबास गरेको नजिकको समुदाय, स्थानीय सामुदायिक वन, स्थानीय तह, सम्वन्धीत प्रदेश सरकार र गुँरास गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग, बेचविखन बन्द गर्ने, बाह्य सहयोगलाई एकद्धार प्रर्णाली मार्फत ग्रहण र संकलनमा सहजीकरण गर्नुका साथै यसको जानकारी गुराँस गाउँपालिकालाई गराउने उनिहरुको नियुक्ती पत्रमा उल्लेख गरिएको छ । राउटे पारासामाजिक कार्यकर्ताको पदमा रहि सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रभित्रका काठहरु कम भन्दा कम क्षति हुने गरेर घर निर्माणमा सहजीकरण गर्ने अध्यक्ष थापाको भनाई छ ।
बैंकबाट चेक साटेर तल भुक्तानी लिएपछि समुदायका महामुखिया महिन बहादुर शाहीले आफ्नो तलब बैंकमा आएर लिन पाउँदा खुसी लागेको बताए । मुखिया सुर्यनारायण शाहीले आफु र आफ्नो जनताले बैंकबारे थाहा नभएको बताउँदै बैंक मार्फत रकम लिँदा सजिलो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया