राउटे समुदायको समस्या बुझ्न बस्तीमै पुगिन् सांसद

राउटे समुदायको समस्या बुझ्न बस्तीमै पुगिन् सांसद

दैलेख वैशाख १६ ।
सामान्यतया, चैत्र वैशाखमा उखरमाउलो गर्मी हुन्छ । तर यो बर्ष चैत्र वैशाखमै बर्खा लागेजस्तै भयो । त्यहि कारण खोलाको विचमै बसेका फिरन्ते जाती राउटे खोला समुदाय बढ्ने डरले अली पर सरेका छन् । खोला तर्काउन लगाइएको तटबन्ध देखि केहि पर । सुर्खेतको गुर्माकोट नगरपालिका वडा नं. १३ बेतेनी खोला विचमै बसेका राउटे करिब दुई समय मिटर खोला तर्काएर बसाई सरेका छन् । सोहि ठाउँमा प्रतिनीधि सभा सदस्य सांसख डा. डिला संग्रौला पुग्दा राउटे मुखिया सुर्यनारायण शाहीले समुदायको व्यथा सुनाउन थाले ।
‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न संकटको पीडा सुनाउँदै मुखिया शाहीले भने ‘सरकार हामीलाई पाल देऊ ।’ उनले थपे ‘सरकारले दिने महिनाको दुई हजार रुपैयाँले महिनाभरी प्राण धान्न मुस्किल हुन्छ, खाद्यान्नको उचित व्यवस्थापन सरकारले गरिदिनुपर्छ ।’ ‘बर्खा लाग्नेबेला भईसक्यो, अब त हामीलाई पाल चाहिन्छ, उनले भने । मुखिया शाहीले प्रतिनीधि सभा सदस्य डा. संग्रौला मार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गरे ।
काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनीधि सभा सदस्य डा. संग्रौलाले भन्नुभयो ‘मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुर्नजागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुंगे युगमा छन् ।’ कर्णाली जागरण अभियानका क्रममा सुर्खेत आइपुग्नुभएकी डा. संग्रौलाले राउटे समुदाय विकराल समस्यामा रहेको पाएको बताउनुभयो । लोपोन्मुख जातीको रुपमा रहेको राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउदै उहाँले उनिहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने बताउनुभयो ।
‘नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ, उहाँले भन्नुभयो ‘यो समुदायलाई यहि ढुंगे युगमा छोड्नु हुँदैन् ।’ उहाँले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस कदम चाल्न सरकारलाई आग्र्रह समेत गर्नुभयो । राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने बताउँदै डा. संग्रौलाले सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । राउटेहरु समाज देखी डराईरहेको बताउँदै संग्रौलाले सामाजिक घुलमिलनको अभियान चलाउनुपर्ने बताउनुभयो ।उहाँले समुदायका कला संस्कृतिलाई बचाईराख्नुपर्ने बताउनुभयो । राउटे बस्तीमा हाल ४६ घरपरिवार छन् । जम्मा एक सय ४६ जनाको संख्यामा रहेको राउटेले यस अघि जंगलमा बाँदर र गुनाको सिकार गरेर छाक टार्ने गरेका थिए । तर, पछिल्लो समय जंगली जनावार नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन् ।

राउटेलाई भत्ता

राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका वडा नं. १३ बेतेनी खोला किनारमा बसोबास गर्दै आएका राउटेलाई चैत्र महिनाको भत्ता वितरण गरिएको हो । स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले भत्ता उपलब्ध गराएको हो । राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो । समुदायका एक सय ४६ जनालाई भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ । फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरेसँगै गुराँस गाउँपालिका दैलेखले मासिक रुपमा भत्ता उपलब्ध गराउँदै आएको छ ।
राउटे समुदायमा एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा गुरासँ गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख मार्फत राउटे परियोजना संचालित छ । उनिहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाका लागि तिन जना कर्मचारी समेत समुदायमा खटिएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो । तिन जना कर्मचारीमध्ये एकजना अहेवले उनिहरुको स्वास्थ्यको हेरचाह गरेका छन् भने अन्य दुई जनाको जोडी शिक्षकले उनिहरुलाई आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गर्न सुरु गरेको अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया