सक्रियता बढाउँदै लैंगिक हिंसा नियन्त्रण समिति

सक्रियता बढाउँदै लैंगिक हिंसा नियन्त्रण समिति

दैलेख वैशाख १८ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलको संयोजकत्वमा गठित जिल्ला लैंगिक हिंसा नियन्त्रण संजाल समितिले सक्रियता बढाएको छ । पोखरेलको संयोजकत्वमा जिल्ला स्थित लैंगिक हिंसा विरुद्ध क्रियाशील सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र पत्रकार लगायत सदस्य रहेको संजाल गठन गरिएको थियो । गत पुषमा गठन गरिएको समितिले जिल्लामा लैंगिक हिंसा नियन्त्रणका लागि विभिन्न अभियानहरु संचालन गर्र्दै आएको छ । समितिले अब जिल्लाका ११ वटै स्थानीय तहमा गठित समिति र ९० वटा वडामा गठित समितिसंग समन्वय गर्दै जाने प्रहरी नायब उपरिक्षक पोखरेलले बताउनुभयो । समितिले चार नगरपालिकामा गठित नगरपालिका स्तरिय समिति, सात गाउँपालिकामा गठित गाउँ स्तरिय समिति र ९० वटै वडामा गठित वडा स्तरिय समितिले हालसम्म गरेका क्रियाकलापबारे अनुगमन समेत गर्नेभएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा आयोजित समितिसंगको अन्तरक्रिया तथा समन्वयात्मक बैठकले विविध कार्य गर्नका लागि निणर्य समेत गरेको छ । पोखरेलका अनुसार स्थानीय तह र वडा स्तरमा गठित समितिले हालसम्म गरेका कार्यहरुको अनुगमन गर्ने र आगामी दिनमा के कस्ता कार्यक्रमहरु संचालन गर्ने भन्ने बारे कार्ययोजना बनाइने छ । सो कार्यका लागि जिल्ला स्तरिय समिति जिल्लाका ११ वटै स्थानीय तहमा पुग्ने उहाँको भनाई छ ।
समुदायमा आधारित संस्था महासंघ दैलेखको सहयोग तथा जिल्ला लैंगिक हिंसा नियन्त्रण संजाल समितिद्धारा आयोजित समन्वयात्मक बैठकमा प्रहरी नायब उपरिक्षक पोखरेलले जिल्लामा बाल विवाह र बहुविवाहको समस्या अत्याधिक रहेको औल्याउनुभयो । उहाँले यस्ता खाले लैंगिक हिंसाका घटनामा चासो राख्न सबैलाई आग्रह समेत गर्नुभयो । बैठकमा समितिका सदस्यहरु नागरिक समाजका संयोजक खड्गबहादुर सिजापती, अधिवक्ता दिर्घराज अधिकारी, सोसेकका अध्यक्ष हीरासिंह थापा विभिन्न संघसंस्थाका प्रतिनीधि तथा संचारकर्मीहरुको सहभागि थिए । जिल्ला, स्थानीय र वडा स्तरका समितिलाई क्रियाशील बनाएर समाजलाई हिंसा मुक्त बनाउने अभियानमा सबैको साथ समर्थन जरुरी रहेको बैठकमा सहभागिहरुले बताएका छन् ।

प्रतिक्रिया