श्रमिक अधिकार सुनिश्चितसँगै बाल श्रम अन्त्यमा जोड

श्रमिक अधिकार सुनिश्चितसँगै बाल श्रम अन्त्यमा जोड

दैलेख वैशाख १८ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले श्रमिकको अधिकार सुनिश्चितसँगै बाल श्रम अन्त्यमा जोड दिएको छ । आज (बुधवार) एक विज्ञप्ती जारी गर्दै अधिकार सुनिश्चितसँगै बाल श्रम अन्त्य हुनुपर्नेमा जोड दिइएको हो ।

१३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा जारी विज्ञप्तीमा भनिएको छ ‘अमेरिकाको सिकागोमा मजदुरले १८८६ मे १ मा ‘आठ घण्टा काम, आठ घण्टा विश्राम र आठ घण्टा मनोरञ्जन’ को माग राख्दै सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झना गर्दै सन् १८९० मे १ तारिख देखि यो दिवस मनाउन थालिएको हो ।’
सोसेकका अध्यक्ष हीरासिंह थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा श्रमिकको जीवनमा गुणात्मक परिवर्तन नआई राष्ट्रिय समृद्धि दिगो हुन सक्दैन भन्ने वास्तविकता सम्बद्ध सबै पक्षबाट आत्मसात गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सबैमा अपिल गरेको छ ।

पर्याप्त कानुनी व्यवस्था हुँदाहुँदै पनि विगतमा प्रभावकारी अनुगमन र कार्यान्वयन नहुँदा श्रमिकको जीवनस्तर माथि उठ्न नसकेको विज्ञप्तीमा उल्लखे छ । ‘सुखी नेपालीःसमृद्ध नेपाल’ को लक्ष्य लिएको वर्तमान सरकारले श्रमिकका लागि केही प्रभावकारी योजनाहरु अगाडी सारेको उल्लेख गर्दै विज्ञप्ती मार्फत त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारसंग माग गरेको छ ।

दिवसका दिन विश्वका ८० भन्दाबढी राष्ट्रमा आधिकारिक रूपमा सार्वजनिक बिदा दिईदै आइएको छ । विश्वका धेरै राष्ट्रमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ । नेपालमा वि.सं. २००७ मा विराटनगरमा भएको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै यस दिनमा वि.सं २०६४ बाट सार्वजनिक बिदा दिन थालिएको हो । श्रमिक वर्गको एकता, वीरता र संघर्षको प्रतीकका रूपमा लिइने यस दिवसलाई नेपालका श्रमिकले राजनीतिक अधिकार एवं पेसागत अधिकारको सुनिश्चितताका लागि सरकार लगाएतका निकायहरुलाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
यस्तो छ विज्ञप्ती

प्रतिक्रिया