बालमैत्री स्थानीय शासन तालिम सम्पन्न

बालमैत्री स्थानीय शासन तालिम सम्पन्न

दैलेख जेठ २२ गते ।
बाल अधिकार सम्बन्धी समग्र पक्षको प्रवद्र्धन गरी स्थानीय तहमा बाल अधिकारलाई सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको अवधारणा सम्बन्धी तालिम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको साझेदारी र गुराँस गाउपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले तालिमको आयोजना गरेको थियो ।
नेपालको संविधानमा उल्लेख भएको बाल अधिकार सम्बन्धी व्यवस्थालाई स्थानीय तहको नीति संरचना र कार्यान्वयन प्रक्रियामा समावेश गर्न गाउँपालिका तयार रहेको गुराँस गाउपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । गुराँस गाउँपालिका बालअधिकार संरक्षण र सम्बद्र्धन गर्न तयार रहेको अध्यक्ष ओलीको भनाई छ । जोखिममा रहेका बालबालिकाको लागि सामाजिक सुरक्षा भत्ता, राहत तथा पुनस्र्थापनाका लागि बाल कोष र दिगो विकासका लागि जीवन सुरक्षा कोष लगायतका बालबालिकाको हितका लागि महत्वपूर्ण कार्यक्रमहरु कार्यान्वयन गरिएको अध्यक्ष ओलीले बताउनुभयो ।
स्थानीय शासन प्रक्रियामा बालबालिकाको अधिकार सम्बन्धी सवाललाई समावेशी सिद्धान्तको आधारमा मूलप्रवाहिकरण गर्दै बालमैत्री स्थानीय शासनलाई संस्थागत विकास गर्न गाउपालिकाले योजनासहित कामको सुरुवात गरेको ओलीको भनाई थियो । दुई वर्ष पछि गुराँस गाउपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाका रुपमा विकास गर्न लागिएको ओलीले बताउनुभयो ।

बालअधिकार महा सन्धिका सिद्धान्त, बाल सहभागीता, बालमैत्री स्थानीय शासनका लागि बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनको सिद्धान्त र जीवनप्रवाह, बालमैत्री स्थानीय शासनका न्यूनतम सूचक र स्थानीय निकायको योजना प्रक्रियामा बाल सहभागीता लगायतका विषयवस्तुमा छलफल गरिएको सहयात्रा परियोजनाका बालसंरक्षण तथा बाल अधिकार शासन संयोजक निर्मल अधिकारीले बताउनुभयो ।

बाल अधिकार सम्बन्धी सेवा प्रवाहका न्यूनतम सूचकको बारेमा जानकारीका साथै समग्र शासकीय प्रक्रियामा बालबालिकाका सवालहरुलाई आबद्ध गरी गाउँपालिकालाई सुशासन तर्फ अभिप्रेरित गर्न सघाउने अधिकारीको भनाई थियो । बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा व्यक्त गरिएका प्रतिबद्धतालाई स्थानीय तहमा कार्यान्वयन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली र व्यवहारमा लागु गर्न बालमैत्री स्थानीय शासन वडा घोषणाले सहयोग गर्ने वडा नं ६ का बालमैत्री स्थानीय शासन वडा समितिका सदस्य अर्जुन कुमार वि.सी. ले बताउनुभयो ।

बालअधिकारसँग सम्बन्धीत ८० प्रतिशत भन्दा बढी सवालहरुको सम्बोधन भएकाले वडा नं ६ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको उहाँको भनाई छ । जसले गर्दा बाल कोषको स्थापना, बालबालिकाको लागि लगानी योजना र बालबालिकाको स्थिती पत्र लगायतका फाईदा भएको वि.सी.को भनाई छ । उक्त तालिममा बालमैत्री स्थानीय शासन र बाल संरक्षण समितिका पदाधिकारी सहभागि थिए ।

प्रतिक्रिया