पूर्ण सरसफाई उन्मुख एवं सरसफाई नमुना वडा घोषणा

पूर्ण सरसफाई उन्मुख एवं सरसफाई नमुना वडा घोषणा

हिक्मत बहादुर नेपाली
दैलेख-
‘हामी शौचालयको सुरक्षित प्रयोग गर्नेछौ, पानीको सुरक्षित प्रयोग तथा भण्डारण गर्नेछौ, सावुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनेछौ ।’ यो कुनै नेता र नेतृत्वको भनाई भने होइन् । दैलेखको दुल्लु नगरपालिका वडा न २ लाई पूर्ण सरसफाई उन्मुख एवं सरसफाई नमुना वडा घोषणा कार्यक्रममा उपस्थित सहभागि स्थानीय नागरिहरुले गरेको प्रतिबद्धता हो । स्थानीयले सुरक्षीत खाना खाने, भण्डारण गर्ने, घर आँगन सफा गर्ने, वातावरण सफा गर्ने भन्दै प्रतिबद्धता जनाएका छन् ।
सरकारको सन २०३० सम्म ‘सबैका लागि सधैका लागि पूर्ण सरसफाई’ को अवस्था हासिल गर्ने लक्ष अनुरुप सोमवार दुल्लु नगरपालिका – २ लाई पूर्ण सरसफाई उन्मुख एवं सरसफाई नमुना वडा घोषणा गरिएको हो । वडाका ९६ प्रतिशत घरधुरीमा पूर्ण सरसफाईका सबै परिसूचकहरु ः हरेक घरमा शौचालय, भाँडा सुकाउने चाङ्ग, फोहोर फाल्ने खाडल, घर आँगन सरसफाई, हरेक घरमा सुरक्षित खानेपानी प्रयोगका लागि फिल्टरको व्यवस्था, सावुन पानीले हात धुने व्यवस्था भएसँगै सरसफाई नमुना वडा घोषणा गरिएको हो ।

कुल २ हजार ९ सय ५९ जनसंख्या रहेको उक्त वडामा सरसफाईका सूचकहरु पुरा भएसँगै नमुना वडा घोषणा गरिएको वडाध्यक्ष लक्षिराम थापाले बताउनुभयो । सरसफाई सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै वडाध्यक्ष थापाले १० बर्ष अघिबाट मात्र यहाँका नागरिकहरुले सरसफाईमा ध्यान दिन थालेका थिए । उहाँले २०६६ मा झाडापखालाले ग्रस्त पारेको यहि वडा हाल आएर नमूना वडा घोषणा गर्न सफल भएको बताउनुभयो । २०६८ साल देखि यहाँका विभिन्न टोलमा खानेपानी योजनाहरु संचालन हुँदै आएको थियो । पूर्ण सरसफाई अभियानकै क्रममा यस अघि विभिन्न टोललाई पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको थियो ।
निकट भविष्यमा यस वडाका सबै घरधुरीमा धुँवा रहित चुलो प्रयोगमा सुनिश्चिता गर्ने कार्ययोजना अघि सारिएको वडाध्यक्ष थापाले बताउनुभयो । पूर्ण सरसफाईको अभियानलाई सफल बनाउन वडा समितिले विभिन्न रणनैतिक कार्ययोजना तर्जुमा गरेको उहाँको भनाई छ ।
घोषणाका अबसरमा प्रतिनीधि सभा सदस्य राजबहादुर बुढाले पूर्ण सरसफाईलाई सामाजिक आन्दोलनको संज्ञा दिनुभयो । उहाँले समाज सभ्य बनाउन सुरक्षित खानेपानी र सरसफाई महत्वपूर्ण रहेको बताउनुभयो । अर्को प्रसंगमा सांसद बुढाले वर्तमान सरकार मुलुकको विकास र समृद्धि तथा आम नागरिकको हित हुने खाले काम गरिरहेको बताउनुभयो । कर्णाली प्रदेश सभा सदस्य सुशिल थापाले आम नेपाली नागरिकहरुलाई सरसफाई सुविधाको आधारभुत अधिकार प्रत्याभुत गराउनुपर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकारले समावेशी र समानुपातिक ढंगबाट विकासका क्रियाकलाप संचालन गर्नुपर्ने बताउनुभयो ।

सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले सरसफाईसँगै बाल विवाह न्यूनिकरणको अभियानमा होमिन सबैलाई आग्रह गर्नुभयो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालका कर्णाली प्रदेश प्रमुख मदन भट्टले मुलुक समृद्धिका लागि सरसफाई अपरिहार्य भएको बताउनुभयो । कार्यक्रममा दुल्लु नगरपालिकाका दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारी, उपप्रमुख विष्णु थापा, नेकपामा बरुनाथ योगी, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्ंयमसेविका लगाएतले मन्तब्य राख्नुभएको थियो । दुल्लु नगरपालिका २ को वडा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना, दुल्लु नगरपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकोअपरेशनको आर्थीक तथा प्राविधिक सहयोग र सोसेक दैलेखको सहजिकरणमा आयोजित कार्यक्रममा सरसफाई अभियानका क्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मानपत्र र कदरपत्र सहित सम्मान गरिएको थियो । त्यस अघि सांसद बुढाले वडाध्यक्ष थापालाई पूर्ण सरसफाई उन्मुख र नमुना गाउँ घोषणाको प्रमाणिकरण पत्र हस्तान्तरण गर्नुभएको थियो । दुल्लु नगरपालिका वडा नं. ३ र ९ यस अघि नै पूर्ण सरसफाई उन्मुख एवं सरसफाई नमुना वडा घोषणा भईसकेका छन् ।

प्रतिक्रिया