जागरुक बन्दै ग्रामिण बालबालिका

जागरुक बन्दै ग्रामिण बालबालिका


दैलेख, ३० जेठ
ठाटीकाँध गाउँपालिका–६ भम्कका १५ बर्षिया उपेन्द्र बडुवाल लकान्द्रमा आयोजित बाल अधिकार, बाल विवाह, छाउपडी प्रर्था तथा बाल हेल्पलाइन १०९८ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि भए । एसईइ नतिजाको पर्खाइमा रहेको बडुवाल समाज सुधार बाल क्लबका कोषाध्यक्ष हुन् । बाल क्लबमा रहेर कुनै पनि सरकारी तथा गैससको सहयोग विनानै विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएका उपेन्द्रलाई उक्त कार्यक्रमले बाल विवाह र छाउपडी विरुद्ध काम गर्न थप बल पुगेको छ ।
सोहि क्लबका सचिव हिमाल खत्रीले भने ‘भारतमा मजदुरी गरी कमाएको रकम गाउँमा ल्याएर समाज सुधारमा लगानी गरेका छौ ।’ बाल विवाह र छाउपडीको कानुनी व्यवस्थाबारे सामान्य जानकार रहेका खत्रीले सोहि कार्यक्रममा सहभागिसँगै धेरै कुरा थाहा पाएको बताए । ‘अब सरकारी तथा गैससको सहयोग लिएर थप बाल विवाह र छाउपडी विरुद्ध सशक्त कार्यक्रम संचालन गर्नेछौ,’ उनले भने । उक्त कार्यक्रममा बडुवाल र खत्री जस्तै ठाटीकाँध गाउँपालिका भित्रका पाँच वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका सहभागि थिए । ग्रामिण क्षेत्रका बालबालिकालाई बाल अधिकारबारे जानकारी गराउनुका साथै बाल विवाह तथा छाउपडी विरुद्ध थप जागरुक बनाउने उदेश्य सहित आयोजित कार्यक्रममा सहभागि बालबालिकालाई बाल अधिकार, बाल विवाह र छाउपडी प्रर्थाबारे कानुनी व्यवस्थाबारे जानकारी गराईएको छ ।
केन्द्रिय बाल कल्याण समितिको सहयोग, सोसेक दैलेखको आयोजना, ठाटीकाँध गाउँपालिका र समाज सुधार बाल क्लबको समन्वयमा आयोजित कार्यक्रममा सहभागि बालबालिकाहरुले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । ठाटीकाँध गाउँपालिका –६ स्थीत नन्दा आधारभुत विद्यालयका विमला बडुवालले भनिन् ‘हामी आफु पनि बाल विवाह गर्ने छैनौ, समाजमा बाल विवाह पनि हुन दिन्नौ ।’
सोहि अबसरमा गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले छाउपडी प्रर्था र बाल विवाह जस्ता सामाजिक कुरिति र कुसंस्कारलाई अन्त्य गरेरै छोड्ने बताउनुभयो चालु आर्थीक बर्षमा ७ लाख विनियोजन भएको बताउँदै स्थानीय स्तरमै सेनेटरी प्याड निर्माण गरि सामुदायिक विद्यालयमा वितरण गरिने अध्यक्ष शाहीको भनाई छ । सोसेकका अध्यक्ष हीरासिंह थापाले कर्णाली गरिब हुनुमा बाल बिवाह प्रमुख कारण रहेको बताउनुभयो । बाल विवाह अन्त्य गर्न सबै जागरुक हुनुपर्छ, अध्यक्ष थापाले भन्नुभयो ‘कहि कतै विवाह भएको देखेमा वा विवाहको निम्तो आएमा जन्मदर्ता वा नागरिकता माग्नुहोस्, उमेर नपुगेको भए विवाह नै बहिष्कार गर्नुहोस् ।’
पुर्व अध्यक्ष सिता रानाले बाल विवाह, बाल हेल्पलाइन, छाउपडी प्रर्थाबारे सहभागिलाई जानकारी गराउँदै खेल मार्फत सकारात्मक सोचबारे प्रष्ट्याउनुभएको थियो । खेल मार्फत समाजमा विकासमा सहकार्य र समन्वय गर्नुपर्ने र सबै दोषअरु माथी थुपार्न नहुने संदेश दिन खोजिएको थियो ।
कार्यक्रममा बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बाल विवाह, छाउपडी प्रर्था, बाल हेल्पलाइन, मनोसामाजिक समस्या र मनोविमर्शबारे सहभागि बाल बालिकालाई जानकारी गराउनुभयो । बाल अधिकार शासन तथा बाल संरक्षण संयोजक निर्मल अधिकारीले बाल अधिकार, बालमैत्री स्थानीय शासनका बारेमा प्रष्ट्याएका थिए । अन्तरक्रियामा ठाटीकाँध गाउँपालिकाका जनप्रतिनीधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको समेत उपस्थिती थियो ।

प्रतिक्रिया