बाल क्लबले थाल्यो ‘बालबालिकासँग अभिभावक’ कार्यक्रम

बाल क्लबले थाल्यो ‘बालबालिकासँग अभिभावक’ कार्यक्रम

दैलेख साउन १९ ।
बाल अधिकार प्रर्वद्धन गर्नका लागि दैलेखमा सक्रिय बाल फुलबारी बाल क्लबले एक बर्षे ‘बालबालिकासँग अभिभावक कार्यक्रम’ संचालनमा ल्याएको छ । दलित समुदायको बाहुल्यता रहेको दैलेखको गुराँस गाउँपालिका वडा नं ३ को खुम बस्तीको उक्त बाल क्लबले कार्यक्रम सुरु गरेको हो । विसं २०७२ मा समुदायका बालबालिकाको अगुवाईमा स्थापना गरिएको फूलबारी बाल क्लबका पदाधिकारीहरुको अगुवाईमा कार्यक्रम सुुरु गरिएको हो ।
बाल अधिकारका सवालमा अभिभावकलाई अभिमुखिकरण गर्न कार्यक्रमको थालनी गरिएको बाल क्लबका अध्यक्ष याम बहादुर विकले बताए । ‘कार्यक्रम अन्तरगर्त हरेक शनिवार दुई वटा परिवारका सदस्यहरुसँग बाल अधिकार तथा विभिन्न सवालमा घण्टा छलफल गर्ने गरेका छौ,’ अध्यक्ष विकले भने ‘कार्यक्रम आगामी असारसम्म संचालन हुन्छ ।’
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र एभरेष्ट क्लब दैलेको समन्वय तथा गुराँस गाउँपालिका वडा नं. ३ को सहयोगमा कार्यक्रम थालनी गरिएको अध्यक्ष विकले बताए । बाल क्लबका अध्यक्ष याम बहादुर विक कार्यक्रम संयोजकको रुपमा खटिएका छन् भने सचिव रिना विक प्रमुख सहजकर्ताको रुपमा खटिएकी छिन् । यस्तै उपाध्यक्ष हरिकला विक र सह–सचिव रत्ना विक सहजकर्ताको रुपमा समुदायमा खटिएका छन् ।

प्रतिक्रिया