रक्षाबन्धन विभेदमुक्त बनाउन छलफल

रक्षाबन्धन विभेदमुक्त बनाउन छलफल

दैलेख साउन २८ । कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले अबको दलित आन्दोलन शासक विरुद्ध रहेको बताएका छन् । दलित समुदायको समृद्धिका लागि गरिएका हालसम्मका आन्दोलन घाटामा गएको उनको टिप्पणी छ । दलित नागरिक समाज दैलेखद्धारा मंगलवार आयोजित विभेद मुक्त रक्षाबन्धन छलफल कार्यक्रममा उनले भने ‘दलित समुदायलाई राज्यका हरेक निकाय र स्रोत साधनमा पहुँच पु¥याउन आन्दोलन जरुरी छ । अबको लडाई नीति, कार्यक्रम तथा बजेट निर्माण बनाउने निकायसँग रहेको उनको तर्क छ । ‘दलितहरु शिक्षा, राजनीति, उत्पादनमुलक क्षेत्रमा किन पछि परे यसको गम्भिर समिक्षा हुनुपर्छ,’ परियारले भने ‘मुलुको वर्तमान व्यवस्था नै दलितको पक्षमा छैन् ।’
अर्को प्रसंगमा सांसद परियारले कर्णाली प्रदेश सरकारले दलित नीति नबनाए आफुहरु आन्दोलन गर्न तयार रहेको बताए । ‘दलित आफै दलित भएका होइनन्, बनाइएका हुन्,’ उनले भने ‘पण्डितहरुले दलितहरुलाई रक्षाबन्धनको धागो नबाँधे केहि फरक पर्दैन् ।’ अबको दलित आन्दोलन धागो बाँध्ने नभई अबसर प्राप्तीको हुनुपर्ने उनको जोड छ । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले दलित र गैरदलित विच एकता र आपसी सद्भाव कायम हुनुपर्नेमा जोड दिए । नेकपाका नेता टेक बहादुर खाँणले जातीय विभेद अन्यका लागि स्थानीय तहहरुले विशेष कार्यक्रम संचालन गर्नु पर्ने बताए । उनले जनप्रतिनीधिहरु नै सच्चिनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका सभापति कृष्णकुमार विसीले विभेद मुक्त समाज निर्माणमा सबैको ऐक्यबद्धता जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले कामको आधारमा गरिएको जात विभाजनले विभेदको रुप लिएको बताउँदै विभेदले समाजमा जरो गाडेको बताए । नारायण नगरपालिका–३ का वडा सदस्य हर्क बहादुर नेपालीले विभेदको सवालमा स्थानीय सरकार गम्भिर नभएको आरोप लगाए । एभरेष्ट क्लब दैलेखका अध्यक्ष दिपक कुमार शाहीले रक्षाबन्धनलाई कानुनको पालना, छलफल, आपसी सहमती र क्रान्तिबाट मात्रै विभेद मुक्त बनाउन सकिने बताए । ‘रक्षाबन्धनको धागो बाँध्न पनि पण्डितहरुले दलितहरुमाथी विभेद गरेका छन्,’ उनले भने ‘गैरदलितहरुले पनि रक्षाबन्धनको धागो बहिष्कार गर्नसक्नुपर्छ ।’

कार्यक्रममा भिम कुमारी गाइनेले दलित अधिकार कागजमै सिमित बनेको गुनासो गरिन् । दलित अगुवा प्रेम भुर्तेलले संबैधानिक व्यवस्था कार्यान्वयनमा सिडियो डिएसपीले नै आनाकानी गर्ने गरेको आरोप लगाए । पत्रकार विशाल सुनारले सदरमुकामकै नारायण मन्दिरमा दलितहरु प्रवेश गर्न नपाएको, विभेदले बालक पढाईबाट बञ्चित भएको प्रसंग जोड्दै विभेद नामबाटै सुरु भएको बताए । उनले मन्दिरलाई समेत कैदी जसरी बन्द गरेर राखेकोमा आपत्ती जनाए । कार्यक्रममा मुख्य सहजकर्ता नीति शास्त्रका ज्ञाता ज्ञानमणी नेपालले धर्मले विभेद गर भनेर नभनेको बताए । ‘मान्छे मान्छे विच भेदभाव गर्ने व्यक्ति पण्डित हुन सक्दैन्,’ उनले भने ‘मान्छे मान्छे विच मात्र होइन प्राणी प्राणी विच पनि विभेद हुनुहुँदैन् ।’ ‘कामी’ लाई अपमान र ‘बेकामी’ लाई सम्मान गर्नाले मुलुक बिग्रिएको उनको तर्क छ । साउन ३० गतेकाे जनै पूर्णिमा रक्षाबन्धन आत्मसम्मान, सौहार्दता र सदभावका साथ मनाउने उदेश्यले छलफल आयोजना गरिएको पत्रकार अमर सुनारले बताए ।

प्रतिक्रिया