दैलेखमा सामूहिक रक्षाबन्धन

दैलेखमा सामूहिक रक्षाबन्धन

दैलेख – दैलेखमा सामूहिक रक्षाबन्धनको कार्यक्रम सम्पन्न भएको छ । पहिले दलित भने रक्षाबन्धन नबाँधिदिएको भए पनि यस पटक केही पण्डितहरुले दलितलाई पनि रक्षाबन्धनको डोरो बाँधिदिएका छन् ।

दलित नागरिक समाजको आग्रहमा दुल्लू नगरपालिका–३, नेपाका ज्ञानमणि नेपाल र दुल्लू नगरपालिका–८ वडलम्जीका कृष्णप्रसाद उपाध्यायले दैलेख सदरमुकाम र दुल्लूमा बिहीबार दलितहरु समेतलाई सहभागी गराइ सामूहिक रक्षाबन्धन कार्यक्रम गरेका हुन् ।पुरातन सोच भएका पण्डितहरुले दलितहरुलाई विभेद गर्दै आएको भन्ने गुनासो आएको कारण आफूहरुले स्वतःस्फूर्त रुपमा सामूहिक रक्षाबन्धन बाँधिदिएको पण्डित कृष्णप्रसाद उपाध्यायले बताए ।

अर्का पण्डित ज्ञानमणि नेपालले २०५५ सालमा यस्तै गरी पहिलो पटक सामूहिक रक्षाबन्धन गराएका थिए । यो वर्षसम्म पनि दैलेखमा पण्डितहरुले नाग पञ्चमीमा नाग टाँस्न, रक्षाबन्धनमा धागो बाँध्न समेत इन्कार गर्दै आएका सुनेपछि यो पटक फेरि यो कार्यक्रम गर्न सघाएको उहाँले टिप्पणी गरे ।

ब्राम्हण संघलाई समेत सहभागी गराउन खोज्दा उहाँहरु तत्कालै सहमत नदेखिएको कारण आफूहरु दलित समुदायको आत्मसम्मान बढाउन केही थोरै शुभचिन्तकहरुलाई लिएर सामूहिक रक्षाबन्धन गरिएको नेपालले बताए ।पण्डित ज्ञानमणि नेपाल सरकारको उपसचिव हुनुहुन्छ । ८ वर्षअघि पाँचथरमा जिल्ला शिक्षा अधिकारीको रुपमा काम गर्दा उत्कृष्ट राष्ट्रसेवकको शिक्षा पदक पाउनुसँगै सन् २०१४ को इन्टेग्रिटी आइडल पुरस्कार पाउनुभएको थियो ।

शुभेच्छुक पण्डितहरुको यो उदारताले दलित समुदायलाई हिन्दू धर्मप्रति आस्था र सम्मान बढाएको दलित अधिकारकर्मी सविना विश्वकर्माले बताए । अधिकारकर्मी जेष्ठ नागरिक मोहन सुनारले जातीय विभेद हटाउन सहयोगीहरु बढेको रुपमा आफूले लिएको बताए ।

अन्यत्र त्यति धेरै विभेद नहुने तर दैलेखमा मात्र दलितहरुलाई रक्षाबन्धन बाँध्न किन इन्कार गरिएको भनी सोध्दा ब्राम्हण संघका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद उपाध्यायले ‘बिस्तारै हुन्छ, अहिले नै दलितहरुकहाँ गएर कर्मकाण्डको काम गर्न सकिँदैन’ भन्ने प्रतिक्रिया दिए ।चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का मदन विकले त्यहाँ पनि पण्डितहरुले दलितहरुलाई रक्षाबन्धन बाँध्न इन्कार गर्ने गरेको जानकारी दिए ।

अघिल्लो वर्ष दलितहरुलाई रक्षाबन्धन बाँध्नु पर्ने हो भने हामी कसैलाई रक्षाबन्धन बाँध्दैनौं भन्दै ब्राम्हण संघकै आह्वानमा रक्षाबन्धन बहिस्कार गरिएको थियो । यो वर्ष भने दलित नागरिक समाजले सरोकारवालासँग गरिएको छलफलपछि राजनीतिक दलहरुको सहजीकरणमा यो वर्ष दलितहरुलाई समेत सहभागी गराउने गरी सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया