किशोर किशोरीलाई यौनिकता शिक्षा

किशोर किशोरीलाई यौनिकता शिक्षा

दैलेख भदौ ३ ।
दैलेखको गुराँस गाउँपालिकामा उमेर नपुगी गरिने बाल विवाह न्यूनिकरणमा सहयोग पुर्याउन यौनिकता शिक्षा अभिमुखिकरण सम्पन्न भएको छ । किशोर किशोरीलाई विद्यालय तथा समुदायस्तरमा बृहत यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको हो । बृहत्त यौनिकता शिक्षाको वारेमा किशोर किशोरीहरुलाई जानकारी गरि बालबालिकाहरुले उमेर नपुगी गर्ने विवाह र सानै उमेरमा हुने गर्भधारणलाई न्यूनिकरण गर्न सहयोग गर्ने उद्धेश्यले उक्त अभिमुखिकरण सञ्चालन गरिएको जनाइएको छ । गुराँस गाउँपालिकाको समन्वयमा, सामाजिक सेवा केन्द्र सोसेक) नेपाल, दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले किशोर किशोरीहरुको अभिमुखिकरण गरेको हो ।
पाठ्यक्रममा आधारित यौनिकता सम्बन्धीे ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षहरूको सिकाइ प्रक्रिया नै बृहत यौनिकता शिक्षा भएको तालिमका सहजकर्ता निर्मल अधिकारीले बताए । यौनिकता शिक्षाले बालबालिका तथा युवाहरूलाई ज्ञान, सिप, अभिवृत्ति र मूल्यहरूसम्बन्धी आफ्नो र अरुको अधिकार सुनिश्चित र सुरक्षित गर्न सहयोग गर्ने अधिकारीको भनाई थियो । दुई दशक देखि विद्यालय पाठ्यक्रममा अनिवार्य विषयका रुपमा समावेश गरी अध्यापन गरितापनि हाम्रो समाज र नीति निर्माताहरुलाई यौनिकता शिक्षाको महत्व बुझाउन नसकिएको अधिकारीले बताए ।
विवाह यौनसम्पर्क वा परस्त्री परपुरुष गमनलाई निरुत्साहित पार्ने र यौन सम्पर्कबाट टाढा रहने उद्धेश्यका साथ दुई दशक अगाडी शुरु गरिएको संयमतामा आधारित यौनिकता शिक्षा असफल भए पछि बृहत यौनिकता शिक्षालाई जोड गरिएको उनको भनाई थियो । आईटिजिएसई, २०१८ का अनुसार बृहत यौनिकता शिक्षामा सम्बन्ध, मूल्य, अधिकार, संस्कृति र यौनिकता, लैङ्गिकताको समझ, हिँसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सिपहरु, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहारका साथै यौनिक तथा प्रजनन स्वास्थ्य गरी आठ वटा प्रमुख अवधारणाहरु रहेको अधिकारीले बताए ।
कक्षा ९ र १० मा अध्ययनरत १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागीतामा सञ्चालित तालिममा किशोरकिशोरी अवस्थामा देखिने शारीरिक, मानसिक, सामाजिक, यौनिक तथा भावनात्मक परिवर्तनका साथै यौन हिंसाका प्रकार र हिंसाबाट बच्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो । यौनिकता शिक्षा दिएको खण्डमा केटाकेटिहरु झन यौनिक क्रियाकलपमा संलग्न हुन्छन् भनी भ्रम पाल्ने हाम्रो समाजमा यो तालिम महत्वपूर्ण हुने अधिकारीको भनाई थियो ।

प्रतिक्रिया