विद्यालयमा सचेतना कार्यक्रम

विद्यालयमा सचेतना कार्यक्रम

दैलेख भदाै १६ । मानव बेचबिखन बिरुद्ध सचेतना बढाउन जिल्ला प्रहरी कार्यालय दैलेखले आइतवार नारायण नगरपालिका क्षेत्रका ३ वटा माविमा विद्यालय स्तरीय कार्यक्रम गरेको छ । यातायात र सञ्चार सुविधाको दुरुपयोगले मानव बेचबिखन समस्या दैलेखमा पनि बढ्दै गएको कारण न्यूनिकरणका निम्ति प्रहरीले सो कार्यक्रम गरेको हो ।
भदौ २० गते मनाइने मानव बेचबिखन बिरुद्ध दिवस अघि नै समाजमा सचेतना फैलाउन यो वर्ष प्रहरीले भदौ १४ गतेदेखि एक साता लामो अभियान थालेको दोश्रो दिन विद्यालयहरुमा सचेतना कार्यक्रम गरिएको प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
विद्यालय कार्यक्रम अन्तरगत रेडक्रस मावि भूर्तीमा पत्रकार अमर सुनार र नारायण क्याम्पसकी स्ववियू सभापति रेखा थापा, बसन्त मावि किमुगाउँमा नारायण नगरपालिका वडा नं. ७ का वडासदस्य निर्मला खड्का, महिला तथा बालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठ र प्रभाकुमार बिकले सचेतना अभियानको आवश्यकता बारे प्रकाश पारेका थिए ।
त्यसैगरी त्रिभुवन मावि दैलेख बजारमा प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य, महिला सशक्तिरण मञ्चका उपाध्यक्ष सविना बिक र सेतो गुराँसकी अध्यक्ष गीता बस्यालले मानव बेचबिखन बिरुद्ध दिवस र समस्या रोकथामका लागि विद्यार्थी तथा समुदायको भूमिका विषयमा चर्चा गरे ।
आगामी भदौ २० गते मनाइने मानव बेचबिखन बिरुद्ध १३ औं राष्ट्रिय दिवस प्रभावकारी रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय दैलेखले एक साता अवधिमा नारायण नगरपालिका क्षेत्रका सबै माविमा विद्यालय स्तरीय सचेतना कार्यक्रम गर्ने, पर्चा पम्प्लेलिङ्ग, माइकिङ्ग, रेडियो सम्वाद कार्यक्रम गर्नुसंगै अन्तिम दिन भव्य ¥याली सहित कार्यक्रम गरिने जनाइएको छ ।
मानव बेचबिखन बिरुद्ध १३ औं राष्ट्रिय दिवस प्रभावकारी रुपमा मनाउन भदौ १४ गते बसेको तयारी बैठकले नारायण नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामाजिक सेवा केन्द्र (सोसेक), ज्वाला क्लव, सेतो गुराँस, महिला सशक्तिकरण मञ्च, नेपाल पत्रकार महासंघ र नेपाल मानवअधिकार संगठन समेत सदस्य रहेको मूल समिति गठन गरेको छ ।

प्रतिक्रिया