धरौटी तिर्न नसक्दा किशोरी थुनामै

धरौटी तिर्न नसक्दा किशोरी थुनामै

सांकेतिक तस्विर/गुगल

अमर सुनार
दैलेख भदाै २६ ।
बालविवाहको मुद्दामा धरौटी तिर्न नसक्दा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ की १८ वर्षीया किशोरी डेढ महिनादेखि महिनादेखि कारागारमा थुनिएकी छिन् ।
दैलेख जिल्ला अदालतले साउन ८ गते थुनछेक बहसपछि मागेको ३५ हजार धरौटी बुझाउन नसकेपछि अहिलेसम्म उनी थुनामा परेकी दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले बताए ।
उनलाई बालविवाह गरेका भनिएका आठबीस नगरपालिका–२ सिगौडीका ३९ रामप्रसाद जैसीले आफ्नो हिस्साको ३५ हजार तिरेर साउन ८ गते नै धरौटी तारेखमा छुटेका थिए । रामप्रसाद चार छोराछोरीको बाबु हुन् ।
असार १४ गते बाल विवाह गरेको भन्दै किशोरीकी आमाले दिएको उजूरीको आधारमा किशोरी र आरोपित रामप्रसाद जैसीलाई असार १६ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला सरकारी वकील कार्यालयले साउन ८ गते दैलेख जिल्ला अदालत बालविवाह मुद्दा पेश गरेको थियो । किशोरीकी आमाको उजूरीको कारण थुनिएको कारण धरौटी तिर्ने जिम्मेवारी पनि आमाकै भएको बालविवाहका आरोपित रामप्रसादका आफन्तको जिकीर छ । परिवारजनमा छाक टार्नै मुश्किल पर्ने अति विपन्न भएका कारण अदालतले तोकेको धरौटी तिर्न नसकेर किशोरी थुनामा बस्नु परेको हो ।
विवाहिताले छोरी सरहको किशोरी विवाह गर्नु गलत भएको औल्याउदै एउटै कसूरमा आफ्नो मात्र धरौटी तिरेर निस्कने अनि किशोरीलाई थुनाउनु विवाह गरेका भनिएको पुरुषले माथि थप अन्याय गरेको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ की वडा सदस्य तुली कामीले टिप्पणी गर्नुभयो ।
धरौटी तिर्न नसकेकी किशोरी गर्भवती भएको समेत खुल्न आएको छ । उनले विवाह गर्ने भनी लिएको साँझ चिनगाड खोलामा बास बसालेर रामप्रसादले शारीरिक सम्वन्ध भएको बताएकी छिन् ।
विवाह गर्ने भनी लिएकै भोलिपल्ट अभिभावकले फिर्ता ल्याएको अवस्थामा प्रहरीमा रामप्रसाद बिरुद्ध जवरजस्ती करणी मुद्दा दिएकोमा प्रहरी अनुसन्धान र जिल्ला सरकारी वकील कार्यालयले बालविवाहमा मुद्दा बदलेको पीडित पक्षले गुनासो गरेको छ ।
एउटा विषयमा दिइएको जाहेरी सरोकारवाला निकायले बदलिंदा मुख्य दोषीले सुविधा पाउने र पीडितले थप पीडित हुनुपरेको जाहेरी लेख्न मद्दत गरेको महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले दुखेसो पोखिन् ।

प्रतिक्रिया