‘जहाँ कुमार केटो मन्दिरमा चढाइन्छ’

‘जहाँ कुमार केटो मन्दिरमा चढाइन्छ’

हिक्मतबहादुर नेपाली, दैलेख : आफ्नो मनोकांक्षा पूरा गर्न मन्दिरमा छोरी चढाउने संस्कृति त पहिल्यैदेखि सुनि आएको हो। तर छोरामान्छेलाई पनि परिवारले यस्ते उद्देश्यले चढाउँछन् भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ होला ? दैलेखको तल्लो डुंगेश्वरमा मन्दिरमा चढाइएको कुमार केटोबाट टिका र आर्शीवाद थापेमा आफ्नो मनोकांक्षा पूरा हुने सिद्धेश्वर महादेवको मन्दिरमा कुमार केटो चढाउने चलन अझैं कायमै छ।

जसलाई स्थानीय भाषामा मन्दिरमा चढाइएको कुमार केटोलाई ‘देउकेटा’ भन्ने गरिन्छ। मन्दिरमा पूजापाठ गर्नेदेखि मन्दिरको सरसफाइ र रेखदेख गर्दै ‘देउकेटा’ को दिनचर्या बित्छ। यो कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुंगेश्वरस्थित शिद्धेश्वर महादेव मन्दिरको वर्षौ पुरानो परम्परा हो। कर्णाली नदी किनारमा रहेको यो मन्दिरमा परम्परादेखि नाबालक अर्थात कुमार केटो चढाउने चलन छ। अहाल मन्दिरमा जीवन गिरी ‘देउकेटा’ को रुपमा छन्।

बिहानै उठ्ने, कर्णाली किनारमा नुहाउने, नदीको जल लिएर मन्दिरमा पूजा गर्ने, दिनमा स्कुल जाने, साँझ पुन कर्णाली नदी किनारमै नुहाएर मन्दिरमा पुजा गर्ने जीवनको दैनिकी हो। आधुनिक समाजमा कलंकको रुपमा रहेको देउकी प्रथा क्रमश हट्दै गए पनि दैलेखमा कुमार केटो चढाउने ‘देउकेटा’ प्रथा कायमै छ। ‘देउकेटा’ जीवनका जेठो दाई प्रेमदेव गिरी र त्यसपछि माइलो दाई चन्द्रदेव गिरीसमेत मन्दिरमा चढाइएका थिए।

उनीहरुको बिवाह भएपछि जीवनलाई देउकोटाको रुपमा मन्दिरमा भढाइएको हो। पुर्खाको परम्परा अनुसार परिवारले नै चढाएपछि आफू मन्दिरमा बस्न बाध्य भएको जीवन बताउँछन्। ‘यो हाम्रा पुर्खाहरुले पाएको बरदान हो रे। छोड्न नमिल्ने भएरै होला आमा–बुबाको सल्लाहमा म देउकेटा बसको हुँ’ उनले भने, ‘स्कुल टाढा छ, पूजा नगरुन्जेल बाहिर निस्कन मिल्दैन। कत्तिदिन त पूजा गर्दागर्दै स्कुल पनि छुट्छ।’

मंगलबार र शनिबार विशेष पूजा हुने भएकाले मंगलबार उनी स्कुल जान पाउँदैनन्। मन्दिरको पूजापाठबाट संकलित दानदक्षिणा देउकेटाका परिवारले घर खर्च चलाउने गरेका छन्। मन्दिरबाट उठाएको भेटीले नौ जना परिवारको घर खर्च जुटाउँदै आएको जीवनका बुबा खड्गदेव गिरीले बताए। ‘हाम्रो आफ्नो परम्परा चटक्क छोड्न मिल्दैन्’ उनले भने, ‘परम्परा संरक्षणका लागि पनि छोरो मन्दिरमा चढाएको हुँ।’ कुमार केटाबाट पूजाआजा नगराएमा स्वयं परिवार तथा श्रदालु भत्तजनको मनोकांक्षा पूरा नहुने र भाग्यको फलप्राप्ती नहुने मान्यता रहीआएको छ।

मन्दिरमा देउकेटाले नुहाइसकेपछि अरुलाई छुन र अरुले पकाएको खान नहुने मान्यता छ। देउकेटा निर्माण गर्दा कुमार केटोलाई विधिपूर्वक ब्रतबन्ध गराएर राख्ने परम्परा छ। आफ्ना चार छोरामध्ये जेठो प्रेमदेव, माइला चन्द्रदेवले यसअघि देउकेटा भइसकेको र अब कान्छो छोरा लक्ष्मणको पालो आउन बाँकी रहेको जीवनका बुबा खड्गदेवले बताए।

प्रतिक्रिया