नैतिक शिक्षाको खाँचो

नैतिक शिक्षाको खाँचो

दैलेख असोज १३ । दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले विद्यालय शिक्षामा पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यता सहितको नैतिक शिक्षा दिन आवश्यक भएको बताएका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालकै कारण हत्या, हिंसा, घरेलु हिंसा, सम्बन्ध विच्छेद जस्ता घटनाहरु निम्तिएको बताउँदै क्षेत्रीले नैतिक शिक्षाको खाँचो परेको बताए ।
राष्ट्रिय बाल अधिकार परिषद्को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा आयोजित रेफरल प्रणाली सुदृढीकरणका लागि सरोकारवालासंगको बैठकमा उनले समस्यालाई जटिल रुपमा नलिएर समाधानको पाटोमा चनाखो रहन आग्रह गरे ।
दैलेख प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले बाल विवाहको जाहेरी नआउँदा कानुनी कार्बाहीको प्रक्रिया अगाडी बढाउन समस्या भईरहेको बताए । शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले सामाजमा रहेको कुरिति र कुसंस्कार विरुद्ध सबै एकजुट हुनुपर्ने औल्याए । नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले महिला तथा बालबालिकाको सवालमा संवेदनशिल रहेको बताए ।
महिला शसक्तिकरण मञ्च दैलेखका अध्यक्ष सुनिता चन्दले पछिल्लो समय कानुनी चेतना र क्षमता विकास भएकै कारण हिंसाका घटनामा कमी आएको बताइन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष दुर्गा कुमारी श्रेष्ठले महिला, बालबालिकाको सवालमा सरोकारवाला निकायहरुसँगको सहकार्यमा काम गर्ने बताइन् । बैठकमा महिला तथा बालबालिकाको सवालमा छलफल भएको बाल हेल्पलाइन १०९८ संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया