सीको सुरक्षाका लागि सेनाको कमान्डमा १५ हजार फौज

सीको सुरक्षाका लागि सेनाको कमान्डमा १५ हजार फौज

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ। भ्रमणका बेला विमानस्थलन, सवारी रूट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा करिब १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।

चिनियाँ राष्ट्रपति शनिबार अपराह्न विशेष विमानमा काठमाडौं आउने कार्यक्रम छ। सी काठमाठौंमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्त्वदायी जिम्मेवारी सेनाले लिनेछ। सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ। कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत सम्मिलित छन्।

राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा यो कार्यदललाई दिइएको छ। कार्यदलले चारवटै सुरक्षा निकायका प्रमुखसँगको प्रत्यक्ष परामर्शमा काम गर्नेछ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले अति विशिष्ट व्यक्तिको विशेष सुरक्षा कार्यविधि २०७० अनुसार राष्ट्रपति सीको सुरक्षाको सम्पूर्ण प्रबन्ध सेनाको कमाण्डमा हुने बताए। पाण्डेले अन्नपूर्णसँग भने, ‘सेनाको कमाण्डमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित हुनेछन्।’

सीको विशेष सुरक्षाका लागि चारवटै सुरक्षा निकायबाट परिचालित हुने १५ हजार सुरक्षाकर्मीमध्ये करिब ८ हजार नेपाल प्रहरीबाट खटिएका छन्। बाँकी सेना र सशस्त्रबाट परिचालित हुनेछन्। सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागबाट सादा पोशाकमा सुरक्षाकर्मी खटाइएको छ। सी आउने जहाज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यात्रा गर्ने सडक, बस्ने होटेल तथा सुरक्षाका हिसाबले संवेदनशील अन्य स्थानमा सेनाको कमान्डमा विशेष गस्ती टोली परिचालित भइसकेको छ।

सीको सुरक्षाका लागि चीनबाटै हतियारसहित विशेष सुरक्षा टोली आउनेछ। सीको सवारी तथा सुरक्षाका लागि कारगेटसहित चारवटा बुलेटप्रुफ गाडी चीनबाट ल्याइएको छ। चिनियाँ जनमुक्ति सेनाको विशेष टोली केही दिनअघि काठमाडौं आएर यहाँको सुरक्षा अवस्था अध्ययन गरी फर्केको थियो। सी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ भने त्यसपछि नेपाल प्रहरी र सशस्त्र रहनेछ। राष्ट्रपति सीको यात्राका बेला तिब्बती शरणार्थीबाट हुन सक्ने गतिविधिलाई ध्यानमा राखेर संभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षा निगरानी कडा बनाइएको छ।

सीको जहाज काठमाडौं उत्रेपछि उनको सडक सवारी हुँदा नेपाली सेनाको हेलिकप्टरले ‘एरियल रेकी’ गर्नेछ। खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म, होटलदेखि राष्ट्रपति कार्यलय र राष्ट्रपति कार्यलयदेखि होटलसम्म र होटलदेखि विमानस्थलसम्मको रूटमा विशेष सुरक्षा सुरक्षा निगरानी हुनेछ। त्यो रूटमा सेनाको हेलिकप्टले एरियल रेकी गर्नेछ।

सी आउने बेला करिब दुई घण्टा काठमाडौं एयरपोर्टका सबै उडानहरू स्थगित गरी आकाश खाली गरिनेछ। शुक्रबारदेखि नै त्रिभुवन विमानस्थलदेखि सीको सवारी हुने रूटमा सडकको दुवैतर्फ सुरक्षाकर्मी खटाइएको छ। अग्ला भवन तथा संरचनामा समेत सुरक्षा गस्ती गरिएको छ। सुरक्षा जाँचलाई पनि कडा तुल्याइएको छ।

नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक विश्वराज पोखरेलले भीभीआइपीको सवारीको सुरक्षा व्यवस्थापनमा नेपाली प्रहरीको लामो अनुभव भएको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिको सुरक्षामा नेपाल प्रहरीलाई प्राप्त जिम्मेवारी अनुसार अधिकतम जनशक्ति परिचालन गरिएको बताए।

प्रतिक्रिया