दैलेखमा अन्तर्राष्ट्रिय विपद् न्युनिकरण दिवस

दैलेखमा अन्तर्राष्ट्रिय विपद् न्युनिकरण दिवस

दैलेख असाेज २६ ।
दैलेखमा अन्तर्राष्ट्रिय विपद् न्युनिकरण दिवसका अबसरमा साताव्यापी कार्यक्रम थालनी गरिएको छ । दिवसको साताव्यापी कार्यक्रम शुभारम्भका अबसरमा दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र जिल्ला विपद् व्यवस्थापन समितिले संयुक्त रुपमा साताव्यापी कार्यक्रम सुरु गरेका हुन् ।
दिवसमा ‘आवश्यक पूर्वाधारमा विपद्बाट हुने क्षती घटाऔँ, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔँ’ भन्ने नारा तय गरिएको छ । दिवसका अबसरमा दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले विपद्बाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनिकरण गर्न आह्वान गरे । क्षेत्रीले विपदबाट हुने क्षति न्यूनिकरणका लागि सबैले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले विपत्तिको कारण र त्यसको निराकरणको उपायको खोजी गर्न पनि सम्बद्ध सबै पक्षलाई सचेत गराएका छन् ।
साताव्यापी कार्यक्रमले जनचेतना अभिबृद्धि हुने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । विपद्का समयमा बढि जसो महिला, बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भएकाले उनिहरुको संरक्षणको उपाय अबलम्बन गर्नुपर्ने संस्थापक अध्यक्ष थापाको भनाई छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले विगत १० बर्ष देखि विपद् व्यवस्थापनको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष अक्टोबर १३ मा नेपालमा पनि अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया