विवरण छुट्दा भत्ताबाट बञ्चित

विवरण छुट्दा भत्ताबाट बञ्चित

अमर सुनार, दैलेख असोज २८ गते
नारायण नगरपालिका–१ का ७२ बर्षिया चन्दबहादुर सुनार सामाजिक सुरक्षा भत्ता लिन दिनभरी बैंकमा लाइनमा बसे । मुस्किलले तीन बजे पालो आयो । नगरपालिकाले सुरक्षा भत्ता वितरणका निम्ति एनएमबी बैंकले ‘तपाईको भत्ता आएको छैन्’ भनेपछि उनले सुरुमा पत्याएनन् । उनी दसैँ खर्च जुटाउन सामाजिक सुरक्षा भत्ता लिन असोज १७ गते पनि दिनभर लाइन बसे तर बैंकले ‘जनशक्ति अभाव र इन्टरनेट स्लो’ भएको भनेर रित्तै फर्काएको थियो । बैंकले यस पटक भत्ता आएको छैन भने पनि ‘रामरी हेर्नुस्’ भन्ने चन्द्रबहादुरको आग्रह अनुसार बैंकका कर्मचारीले सोधीखोजी गरे तर उनको नाममा रकम नआएको निश्चित गरे ।

सामाजिक सुरक्षा भत्ताकै लागि खोलिएको एनएमबी बैंकमा रहेको खातामा रकम पोष्टिङ्ग नभएको देखिएपछि नगरपालिकाले पठाएको नामनामेसी हेर्दा समेत उनको नाम नभेटेपछि उनलाई नगरपालिकामा सम्पर्क गर्न पठाइएको भुक्तानी शाखाका सहायक नेत्र जोशीले बताए । अरुको पनि नाम छुटेको अनुमान गरिएको छ । सचिव गोपाल श्रेष्ठलाई भेटेपछि त्यहाँबाट पनि नगरपालिकामा नाम पठाइएको देखियो तर अभिलेख अध्यावधिक गर्दा पञ्जिकरण शाखाबाट नाम छुटेको पत्ता लाग्यो । पञ्जिकरण शाखाले लाभग्राहीहरुको नाम अध्यावधिक गर्दा इण्टरनेट स्लो भएको र कामका चापको बेला संयोगले नाम छुट्न गएको नारायण नगरपालिकाका पञ्जिकाधिकारी मोहन थापाले प्रतिक्रिया दिए । उनले दोश्रो चौमासिकमा समेटेर उनलाई यो समयको सुविधा समेत थपेर पठाइने बताए ।
चन्द्रबहादुरले १२ वर्ष अघि २०६४ देखि जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउदै आएका थिए । उनकी श्रीमति ७४ वर्षीया जैसरा सुनारले मंगलवार पहिलो चौमासिकको १२ हजार रुपैंयाँ बैंकबाट भुक्तानी पाए पनि आफूले नपाएपछि चन्द्रबहादुरमा खिन्नता देखिन्थ्यो । यो दम्पतिका ६ छोरा र २ छोरी छन् ।
चन्द्रबहादुर जस्तै नारायण नगरपालिकाका कर्मचारीको लापरवाहीले केही जेष्ठ नागरिक र एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । पहिलेदेखि सुविधा पाउदै गरेका लाभग्राहीहरुको विवरण तथ्यांक अध्यावधिक गर्न छुटाएका कारण भत्ता रोकिएको सेवाग्राहीले गुनासो गरेका छन् ।
नारायण नगरपालिकाले बैंकमा रकम ढिला पठाएको कारण जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग र दलित बालबालिका समेत २५ सय भन्दा बढी लाभग्राही मध्ये करिव ३ सय जनाले मात्र दशैं अघि बैंकबाट सामाजिक सुरक्षा भत्ता झिक्न पाएका थिए ।
सरकारले सामाजिक सुरक्षा भत्ता पाउने सबै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गहरुको सम्वन्धित व्यक्ति र दलित बालबालिकाको हकमा अभिभावकको नाममा खाता खोल्न अनिवार्य गरिए पनि नारायण नगरपालिकाका १–९ वडाका लाभग्राहीहरुको मात्र बैंक खाताबाट सुविधा दिने गरेको छ ।
पुनर्संरचनापछि नारायण नगरपालिकामा थपिएको वडा नं. १० भवानी, वडा नं. ११ बिन्ध्यवासिनी र अरु बाँकी १० वटा स्थानीय तहहरुले जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग र दलित बालबालिकाहरुलाई नगदै सामाजिक सुरक्षा रकम बाँडिरहेका छन् । गाउँगाउँमा बैंक पुगे पनि खाता खुलाएका छैनन् ।
सोझै भुक्तानी दिनेहरुले पञ्जिकरण तथ्यांकमै लटपट गराएर सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको गुनासो छ भने नारायण नगरपालिकाका ९ वटा वडामा बैंक खाताबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अस्तव्यस्त शैलीले वर्षौंदेखि सास्ती पाइरहेको गुनासो आइरहने तर सुधार नहुने अवस्था यथावत छ ।

प्रतिक्रिया