गरिबी निवारण दिवसमा अन्तरक्रिया

गरिबी निवारण दिवसमा अन्तरक्रिया

दैलेख असोज ३० ।
गरिबी निवारण दिवसको अबसरमा दैलेखमा गरिबी निवारणका लागि स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया गरिएको छ । नारायण नगरपालिका दैैलेखको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, एभरेष्ट क्लब, सेवक, गैरसरकारी संस्था महासंघ दैलेखको समन्वयमा अन्तरक्रिया गरिएको हो । दिवसका अबसरमा ‘गरिबी अन्त्यका लागि बालबालिका उनिहरुको परिवार तथा समुदायको सशक्तिकरणका लागि क्रियाशिल होआँै’ भन्ने नारा सहित अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले स्थानीय सरकारले आफुसँग भएका स्रोत साधनको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रतिनीधि सभाका अर्का सांसद पार्वती कुमारी विशुन्केले मुलुक गरिबीको चपेटामा परेको बताइन् । गरिबी निवारणका लागि तीनै तहका सरकारले रोजगारमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

कर्णाली प्रदेशका सांसद अमरबहादुर थापाले कुनै पनि कार्य गर्दा विधि र पक्रियाबाट गर्नुपर्ने धारणा राखे । गरिबी निवारणको क्षेत्रमा काम गर्ने संस्थाहरुले गरेको काम प्रति सबै जवाफदेहि हुनुपर्नेमा सांसद थापाको जोड छ । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले गरिबीको रेखामुनी रहेको नागरिकहरुलाई गरिबीमुक्त बनाउन नगरपालिका लागिपरेको बताए । सन २०३० सम्म गरिबी अन्त्य गर्ने सरकारको लक्ष पुरा गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने नगरप्रमुख खड्काको भनाई छ । गरिबी निवारण कोषको रकम सदुपयोग गर्न स्थानीय सरकार तत्पर रहेको उनले बताए ।
कार्यक्रममा एभरेष्ट क्लब दैलेखका चन्दबहादुर खड्काले प्रस्तुत कार्यपत्र प्रस्तुत गरेका थिए । दिवसको अवसरमा दैलेख जिल्लामा गरिवी निवारणका लागि गरिवी निवारण कोष मार्फत गरिएका प्रयासहरु माथि छलफल गरिएको थियो ।

प्रतिक्रिया