चारहजार बालिकालाई प्रशिक्षण

चारहजार बालिकालाई प्रशिक्षण

दैलेख कात्तिक ४ ।
बालिकाको प्रतिरोधात्मक क्षमता, यौनजन्य घटनाको पहिचान गर्न सक्ने क्षमता बृद्धि र यौनजन्य हिंसाबाट जोगाउने उदेश्यले दैलेखबाट थालिएको बालिका बचाउ अभियानले २६ मावीका बालिकाहरुलाई प्रशिक्षण दिएको छ । दैलेख, सुर्खेत र जाजरकोट जिल्लाका विद्यालय तथा समुदाय स्तरमा प्रशिक्षण दिएको हो । एक बर्ष देखि सञ्चालन भईरहेको अभियानले तीन जिल्लाका चार हजार एक सय ७७ बालिकालाई प्रशिक्षण दिईएको सल्लाहकार हिक्मतबहादुर नेपालीले जानकारी दिए । जिल्लाका युवाहरुले स्ंवयमसेवक रुपमा सुरु गरेको अभियानको प्रथम बार्षिक समिक्षा तथा सम्मान कार्यक्रमका अबसरमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

‘यौन दुव्र्यवहार र बलात्कार विरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारा सहित सञ्चालन भईरहेको समिक्षा कार्यक्रममा प्रतिनिधिसभाका सांसद पार्वतीकुमारी बिशुन्केले ‘बालिका बचाउ अभियानले महिला हिंसा, छाउपडीप्रथा, जातीय विभेद लगायतका सवाल संगसंगै अगाडि बढाउन सुझाव दिइन् । सांसद बिशुन्केले स्थानीय सरकारले भौतिक विकाससंगै सामाजिक सचेतना जगाउन यस्ता स्वयमसेवी समूहलाई परिचालन गर्न आग्रह गरिन् । महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले स्थानीय सरकारले गर्ने सचेतनाको काममा बालिका बचाउ अभियानले सघाएकोले आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पवित्र भावनाले अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

नारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रकाश न्यौपानेले अभियानलाई स्थानीय सरकारबाट सहयोग हुने बताए । प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले प्रहरीको आफ्नै दायित्वलाई सघाएको भन्दै अभियानलाई धन्यवाद दिए । गैसस महासंघका जिल्ला अध्यक्ष महारुप खत्रीले बिना श्रोत पनि काम गर्न सकिन्छ भन्ने अभियानले देखाएको औल्याए । बालिका बचाउ अभियानका संयोजक सजना सुनारले अभियानलाई स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताइन् । ‘हामी आफ्नो सिप, समय लगानी गर्छौ, उनले भनिन् ‘स्थानीय सरकारले ग्रामिण क्षेत्रमा पुग्ने वातावरण मिलाइदिनुपर्छ । ’ सोहि अबसरमा अभियानलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुभएका व्यक्ति तथा संस्थालाई सम्मानपत्र दिइएको थियो । समिक्षामा अभियान प्रभावकारी देखिएकोले आगामी दिनमा स्थानीय सरकारहरुसँग समन्वय सहकार्य गरि कर्णाली प्रदेशभरी विस्तार गर्ने निचोड निकालिएको छ ।

प्रतिक्रिया