दलित समुदायको जीवनस्तर उकास्न स्थानीय तहले बेवास्ता गरे : सांसद बिशुन्के

दलित समुदायको जीवनस्तर उकास्न स्थानीय तहले बेवास्ता गरे : सांसद बिशुन्के

दैलेख कात्तिक ५ ।
प्रतिनिधिसभाका सांसद पार्वतीकुमारी बिशुन्केले दलित समुदायको जीवनस्तर उठाउन नीति तथा कार्यक्रम ल्याउन दलित जनप्रतिनिधिहरुलाई सुझाव दिएकी छिन् । स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको दैलेखमा भएको बैठकमा उनले सो धारणा राखेकी हुन् । दलित समुदायको आर्थिक र शैक्षिक जीवनस्तर उठाउन स्थानीय तहहरुले बेवास्ता गरेको भन्दै साँसद बिशुन्केले दलित समुदायको हितमा बोल्न दलित जनप्रतिनिधि गाउँसभा तथा नगरसभामा दरिलो रुपमा प्रस्तूत हुनुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका सल्लाहकार एवं आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह बिकले लक्षित कार्यक्रम गर्ने संघ, संस्था वा सम्वन्धित पालिकाको शाखाहरुले काम पारदर्शी रुपमा गरे नगरेको खवरदारी गर्नुपर्ने आवश्यकता दर्शाए ।
स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका संयोजक दिनेशबहादुर बिकको अध्यक्षतामा भएको बैठकले मञ्चको प्रभावकारी उपस्थिति र समुदायसंगको सहकार्यता बढाउन कार्यसमितिको घुम्ती बैठक सञ्चालन गर्ने भएको छ । मञ्चले पहिलो घुम्ती बैठक कात्तिक ८ गते दुल्लू नगरपालिका गर्ने निर्णय गरेको छ ।
बैठकले दलित युवाहरुलाई लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्न, सामाजिक चेतना बढाउन दलित जागरण रेडियो कार्यक्रम प्रसारण गर्न, सचेतना कार्यक्रम र दलित हित कोषका लागि दैलेखका ११ वटै स्थानीय तहहरुसंग अनुदान माग्ने पनि निर्णय गरेको छ ।
दलित नागरिक समाजको आह्वानमा स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुलाई २०७४ चैत ६ र ७ गते गरिएको पहिलो अभिमुखीकरण भेलाबाट नेपालमै पहिलो पटक दैलेखका ११ वटै स्थानीय तहहरुको प्रतिनिधित्व गराई १३ सदस्यीय ‘स्थानीय तह दलित जनप्रतिनिधि मञ्च’ गठन गरिएको छ ।
‘स्थानीय तह दलित जनप्रतिनिधि मञ्च’ कै प्रभावकारितापछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दलित जागरण केन्द्र र जिल्ला समन्वय समितिको आयोजनामा गएको वैशाखमा दोश्रो पटक दैलेखका ९० वटै वडाका १ सय ४२ जना दलित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको थियो ।
गाउँपालिका र नगरपालिकामा नेतृत्वको बेवास्ताका कारण दलित जनप्रतिनिधिहरुलाई भूमिका विहीन बनाइएको अधिकारकर्मी पत्रकार अमर सुनारले टिप्पणी गरे । दलित जनप्रतिनिधिलाई अझैं जुझारु र दायित्वप्रति कर्तव्यनिष्ट बनाउन अझैं पृष्ठ पोषण आवश्यक रहेको सिल्पी समाजका संयोजक बखत नेपालीले बताए ।

प्रतिक्रिया