सरसामान किन्दैमा सकिन्छ भत्ता

सरसामान किन्दैमा सकिन्छ भत्ता

दैलेख : हस्ताक्षर गरेर भत्ता बुझ्दै राउटे युवती गाजली शाही । तस्विर : हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख, कात्तिक १० : कात्तिक महिनाको भत्ता बुझेपछि महामुखिया महिनबहादुर शाही पत्नी सहित सरासर छाप्रा तिर लस्किए । तीन हजार भत्ता बुझेका महामुखिया शाही सहित परिवारका तीन सदस्यको गरि उनिसँग १२ हजार रुपैयाँ भयो । उनका जेठो र कान्छो छोरा बुहारी अलग्गै बस्छन् । महिनबहादुर र पत्नी दुनी शाहीबीच केहिबेर भलाकुसारी चल्यो । पैसा केमा खर्चिने ? यस्तै सरसल्लाह । आफुले भिरेको सानो छड्के झोला भित्र महिनबहादुरले केहि रकम राखे । अनी छाप्राबाट बाहिरिए । बाँकी पत्नी दुनीले सानो कपडाको टुक्रामा गाठो पारेर राखिन् । राउटे युवा प्रकाश शाहीले पत्नी महिन शाही सहित ६ हजार रुपैयाँ बुझे । ‘चामल नुन तेल किन्नुपर्ला, बचेको पैसा थैलीमै हुन्छ, युवा प्रकाशले भने ‘सरसामान किन्दैमा भत्ता सकिन्छ ।’ आफु सुर्तीको अम्मली भएकाले केहि पैसा त्यसैमा खर्च हुने उनले बताए ।

पाँच महिना देखि दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्दैै आएका फिरन्ते राउटे समुदायलाई गुराँस गाउँपालिकाले मासिक रुपमा भत्ता वितरण गर्दै आएको छ । चौमासिक रुपमा वितरण गरिने भत्ता गाउँपालिकाले परिचय पत्र प्रदान गरेसँगै मासिक रुपमा वितरण हुन्छ । गुराँस गाउँपालिका–७ का वडाध्यक्ष हुकुमबहादुर खत्री, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा नेतृत्वको टोलीले ४६ घरपरिवारका १ सय ४९ जनालाई भत्ता बुझायो । भर्खर जन्मेका शिशुदेखि बूढापाकासम्मले प्रतिव्यक्ति तीन हजार बुझे । गुराँस गाउँपालिकाको परिपत्र लिएका राउटेका केहि युवा बाहेक अधिकाँशले औठाछाप लगाएर भत्ता बुझे ।

समुदायका गाजली, कलम, सिस्नेरी, सम्झना, टेकराज, दिपक शाही लगाएतले हस्ताक्षर गरेर भत्ता बुझ्ने गरेका छन् । परिचय पत्र दिनु अघि टाउको गनेर अर्थात संकेत स्वरुप नङमा मसी लगाएत भत्ता बुझाउने चलन थियो ।
भत्ता बुझ्दा मुखिया सुर्यनारायण शाही सहित परिवारका पाँचै जना हर्षित देखिन्थे । ‘तीहार लाग्यो, हामीले तीहारलाई खासै महत्व दिदैँनौ,’ मुखिया शाहीले भने ‘घरायसी सरसामान किनेर भत्ता सकिन्छ, चामल सकिएको छ, यहि भत्ताले चामल किन्नुपर्ला ।’ फिरन्ते जाती राउटे समुदाय आफुलाई वनको राजा दाबी गर्छ । आधुनिकतासँगै उनिहरु शिक्षा, औषधी उपचार र सरसफाईमा ध्यान दिन थालेका छन् । राउटे समुदायको सरसफाई, स्वास्थ्य र जीविकोपार्जन सुधारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले परियोजना सञ्चालन गरेको छ । परियोजना मार्फत अहेव र जोडी शिक्षक समुदायमा खटाईएको छ ।

प्रतिक्रिया