गर्भवतीसँग ‘उपमेयर’

गर्भवतीसँग ‘उपमेयर’

हिक्मतबहादुर नेपाली
दैलेख कात्तिक २० ।
असल आमा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको यहाँको नारायण नगरपालिकाले ‘गर्भवतीसँग उपमेयर’ कार्यक्रम शुभारम्भ गरेको छ । नगरका भित्रका गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराहरुबारे चेतना फैलाउन गर्भवती महिलासँग उपमेयर कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
‘पुस्तौ पुस्तासम्म न्यून पोषण चक्रलाई तोड्न गर्भावस्था देखि नै सुधार ल्याउन यो कार्यक्रम थालनी गरेका हौ,’ नगर उपमेयर सावित्री मल्लले भनिन् ‘यसले स्वास्थ्यमा सुधार ल्याई स्वस्थ नागरिक समृद्ध नगर निर्माणमा सघाउ पु¥याउनेछ ।’ स्वास्थ्यको सुचकांकमा सुधार ल्याउने नगरले लक्ष दिएको उनले बताइन् । ‘सडक खन्ने मात्रै विकास होइन, महिला र शिशुको स्वास्थ्य सुधार गर्नुपनि स्थानीय सरकारको दायित्व हो,’ उपमेयर मल्लले भनिन ।

नगरसभाबाट पारित गरेर चालु आर्थिक बर्ष देखि कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम अन्तरगर्त नगर उपप्रमुख गर्भवती महिलाहरुको घरदैलोमै वा वडा स्तरको पायक पर्ने स्थानमा पुगेर गर्भवती महिलासँग भेटघाट गर्नेछिन् । उपप्रमुख गर्भवती महिलासँग भेट्न जाँदा कपडाको झोला, सन्देशमुलक पोष्टर, सरसफाईका सामग्री, आयो नुन र पोषणका लागि अण्डा उपहार स्वरुप दिइनेछ । गर्भवती महिलासँगै उनका श्रीमान र सासुसँग भेटेर गर्भावस्थामा गर्नुपर्ने स्याहार, आईपर्ने समस्याबारे छलफल गरिनेछ ।
कार्यक्रमका लागि चालु आर्थिक बर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको स्वास्थ्य शाखाका लालबहादुर खड्काले बताए । कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको संख्यामा बुद्धि हुने अपेक्षा गरिएको खड्का बताउँछन् । अहिले नारायण नगरपालिका भित्र घरमै सुत्केरीको संख्या शुन्य रहेको नगरपालिकाले जनाएको छ । कार्यक्रम मार्फत चालु आर्थिक बर्षमा झण्डै ४ सय गर्भवती लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया