बेचबिखनको जोखिममा बालबालिका

बेचबिखनको जोखिममा बालबालिका

टेकराज केसी, दैलेख (गुराँस)
दैलेखको गुराँस गाउँपालिकाका सरोकारवाहरुले बालबालिका बेचबिखनको जोखिममा परेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनिहरुले दैलेख गुराँस गाउँपालिकाबाट बालबालिका ओसारपसार हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । गुराँस गाउँपालिकाको आयोजना र सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको समन्वयमा बालबालिकाहरुको नीतिगत व्यवस्थाहरुको अभिमुखिकरण कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
विशेष गरेर बालबालिकाहरुलाई ओसारपसार गरेर सहरमा लिने गरिएको भन्दै यो रोक्न पहल गर्नुपर्नेमा जोड दिएका छन् । गुराँस गाउँपालिका – २ बाट दलित बस्तीका बालबालिकाहरु ओसार पोसार गरेर काठमाडौँ लिएर शोषण गर्ने गरेको भन्दै यस्ता गतिविधिलाई तत्काल रोक्नुपर्ने सुझाव दिएका छन् । शिक्षक महेन्द्र्र रामजाललीले गुराँस गाउँपालिका–२ बाट ६ जना बालबालिका ओसापसार गरिएको तथ्य पत्ता लागेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराए ।
दैलेख जिल्लाको प्रवेशद्धारमा रहेको गाउँपालिकाबाट बालबालिकाहरु ओसारपसारको दर बढेको भन्दै यसको समाधानका लागि स्थानीय सरकार र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु नीतिगत रुपमै लाग्नुपर्ने उनको जोड छ । शिक्षक बिष्णु शर्माले शिक्षा क्षेत्रको विकास र बालबालिकाको संरक्षणमा सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
गुराँस गाउँपालिका दैलेखले भने बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गरेको बताएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाले देशकै नमुना कार्यक्रमको रुपमा जिवन शुरक्षा कोष लागु गरेको भन्दै अब कोही पनि बालबालिका गरिब भएर बाच्नु नपर्ने दाबी गरे ।
उनले गाउँपालिकालाई नै बालमैत्री बनाउनका लागि काम अगाडी बढेको भन्दै यस क्षेत्रमा सहयोग पु¥याउने साझेदार संस्थाहरुलाई धन्यबाद दिए । गाउँपालिका भित्रका जनप्रतिनिध, कर्मचारीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने गरी नीति कार्यान्वयनमा जान थालेको उनले बताए । अध्यक्ष ओलीले बालबालिका ओसारपसार गर्ने गरिएको प्रसंङ्गमा ओसारपसार भएको थाहा पाउने जो कोहीले पनि जानकारी गराउन आग्रह गर्दै ओसारपसार गर्ने गिरोहलाई कारबाही गरिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया