‘बालबालिकालाई हिंसा गर्दैनौ’

‘बालबालिकालाई हिंसा गर्दैनौ’

दैलेख मंसिर ७ गते । गुराँस गाउँपालिका वडा नं २ र ८ को पुरैनी, सेरीवाडा र गर्चाका स्थानीय अभिभावकहरुले बालबालिकालाई हिंसा नगर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ हिंसा रहित अभिभावकत्व सम्बन्धी तीन महिने कक्षा सञ्चालन गरिएको थियो । यहाँका अभिभावकहरुले एउटै स्वरमा सबै अभिभावकले ‘हामी बालबालिका माथि कुनै पनि हिंसा गर्दैनौ र गर्न पनि दिदैनौ’ भन्द्र प्रतिवद्वता जनाए । गुराँस गाउँपालिकाको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको सहयोगमा उक्त कक्षाहरु सञ्चालन गरिएको हो ।
बाल अधिकार, बाल विकास, सकारात्मक अभिभावकत्व, लैङ्गिकता तथा भेदभाव विहीनता र बालबालिका माथि हुनसक्ने सबै प्रकारका हानिहरुबाट सुरक्षित गर्न अभिभावकको बुझाईमा बृद्धि गर्ने उद्धेश्यले सञ्चालित कक्षासमापन कार्यक्रममा अभिभावकले बालबालिकालाई हिसा नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

६ देखि १७ वर्ष उमेर समूहका बालबालिका र उनीहरुका अभिभावकलाई छुट्टा छुट्टै कक्षा सञ्चालन गरिएको थियो । परिवारले देख्ने सपना, सुरक्षित रहने अधिकार, सकारात्मक अभिभावकत्वका लक्ष्यहरु, बालबालिकालाई भावनात्मक स्नेह, बालबालिकाको विचार र भावनासहितको बुझाई, सम्मानपूर्ण सञ्चार र सकारात्मक सम्बन्ध लगायतका कक्षा अभिभावकको लागि सञ्चालन गरिएको थियो भने एक अर्कालाई चिन्ने, मेरो जिवन, हाम्रो समुदाय, बालबालिकाका आवश्यकता र अधिकार, दुव्र्यवहार, राम्रो छुवाई नराम्रो छुवाई, सञ्चार तथा समस्या समाधान र मित्रता लगायतका कक्षाहरु उमेर समूह अनुसार बालबालिकाका लागि छलफल गरिएको थियो ।
वडा नं २ का अध्यक्ष रत्नबहादुर रावलले बालबालिका माथि हुने कुनै पनि प्रकारका हिंसाहरु सह्य नहुने बताए । स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका आवश्यकताहरुलाई प्राथमिकतामा राख्ने गरिएको बताउदै उनले भने, ‘जो सुकै बालबालिका हुन, गरिबीमै जन्मने र गरिबीमै मृत्यु हुने परम्पराको अन्त्य हुन आवश्यक छ ।’ ‘जहाँ शिक्षाको अभाव हुन्छ त्यहाँ गरिबी बढ्दै जाने र उसको अन्त्य पनि गरिबीमै हुने भएकाले हरेक अभिभावकले आफ्ना सन्ततिलाई राम्रो शिक्षा दिनुपर्छ,’ उनले भने । ‘हिंसा रहित अभिभावकत्व सम्बन्धी कक्षाले हरेक अभिभावकको बालबालिका प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सफल उनले बताए । ‘बालबालिकाको संरक्षण, सहभागिता, लैङ्गिक समानता तथा भेदभाव विहीनताको प्रवद्र्धन गर्न बालबालिका र उनीहरुका अभिभावक परिवर्तनका संवाहकका रूपमा सशक्त भई अभिभावकले बालबालिकालाई गर्ने व्यवहारमा सुधार गर्न सहयोग पुगेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए ।
‘भौतिक विकास गर्न जति सजिलो छ सामाजिक विकास गर्न त्यति सजिलो नभएको अधिकारीको भनाई छ । ‘समुदाय वा परिवारमा राम्रो व्यक्ति जन्माउन एउटा पुस्ता लाग्ने गर्छ, तर हाम्रा भौतिक संरचनाहरु केही वर्ष भित्रै निर्माण गर्न सक्छौं, हाम्रा आवश्यकताहरु पुरा गर्न ऋण लिन सकिन्छ तर सामाजिक पुजीँ निर्माण ऋण लिएर गर्न सकिदैन्, उनले भने ‘यो सामाजिक नेतृत्व र गुणस्तरीय शिक्षाबाट प्राप्त गर्न सकिने भएको हुदाँ हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित शिक्षाका साथै मायाममता र स्नेहमा हुर्काउनु पर्छ ।’
‘तिमी असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु’ भन्ने सम्राट नेपोलिएन बोनापार्टको उदाहरण दिदै बालबालिकाको लागि पहिलो पाठशाला उसको घर भएकाले घरबाटै बालबालिकालाई राम्रो संस्कार सिकाउदै जानु पर्ने उनको भनाई थियो ।
समापन कार्यक्रममा बालबालिकाले ‘फेरी कहाँ आउछँ र घुमेर, यो बालापनको उमेर बालपनको उमेर’ बोलको गित सुनाउदा खुसिले अधिकाँस अभिभावकका आखाँ रसाएका थिए ।

प्रतिक्रिया