अपांगता भएकालाई परिचयपत्र

अपांगता भएकालाई परिचयपत्र

दैलेख : अपांगता परिचय पत्र बनाउन आएका स्थानीय । तस्विर , हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख मंसिर ७ गते :
जिल्लाको नारायण नगरपालिकाले नगर क्षेत्रका अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सुरु गरेको छ । अपांगताको आधारमा चार समूहको चार रंगका परिचय पत्र वितरण थालिएको हो । नगरपालिकाले पहिलो चरण अन्तरगर्त अपांग परिचय पत्र वितरण घुम्ती शिवर आयोजना गरी नगरका अपांगता भएकाहरुलाई परिचयपत्र वितरण गर्न सिफारिस गरेको छ ।
नारायण नगरपालिका ११ विन्ध्याबासीनीमा शिविर आयोजना गरि परिचयपत्र वितरण सुरु गरिएको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरि नारायण नगरपालिकाले शुक्रवार ३१ जनालाई परिचय पत्र वितरणका लागि अपांगता परिचय पत्र वितरण समितिमा पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक रावलले जानकारी दिए । अपांगताको वर्गीकरण अनुसार क, ख, ग र घ समुह का ३१ जनालाई सिफारिस गरिएको रावलले बताए । एलडब्लुएफको सहयोग, समुदायमा आधारित संस्था महासंघको सहजिकरणमा नारायण नगरपालिका–११ द्धारा आयोजित शिविरबाट परिचय पत्र वितरणका लागि समितिमा सिफारिस गरिएको वडासदस्य मनकुमारी सुनारले बताइन् ।
नगरपालिकाले गाउँमै घुम्ती शिवर गरेर परिचय पत्र दिन सुरु गरेको हो । जिल्ला सदरमुकाम स्थित नगरपालिकाको कार्यालयबाट पाउने सेवा गाउँमै पाउँदा स्थानीय खुसी भएका छन् । परिचय पत्र वितरण शिविरमा जिल्ला स्वास्थ्य कार्यालयका डा.जीवन ज्ञावली, नेपाल रेडक्रस सोसाइटी दैलेखका कर्मचारी गाउँमै पुगेर सेवा दिएका हुन् । अपांगता भएका व्यक्तिहरुलाई वडा तहमै पुगेर परिचयपत्र वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया