उत्तर कोरियाले जापानका प्रधानमन्त्रीलाई ‘मुर्ख’ भन्यो

उत्तर कोरियाले जापानका प्रधानमन्त्रीलाई ‘मुर्ख’ भन्यो

एजेन्सी । उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबे ‘मुर्ख’ र ‘राजनीतिक रुपमा अपरिपक्क’ नेता रहेको बताएको छ।

आफ्नो देशले गरेको मिसाइल परीक्षणका सम्बन्धमा जापानका प्रधानमन्त्रीले गलत जानकारी दिएको उत्तर कोरियाको आरोप छ।

विज्ञापन

आफूले पछिल्लो समय सुपर लार्ज मल्टिपल रकेट लञ्चर परीक्षण गरेको उत्तर कोरियाले बताएको छ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले शनिबार जापानलाई चेतावनी दिँदै ‘निकट भविष्यमा जापानले वास्तविक ब्यालेस्टिक मिसाइल कस्तो हुनेछ भन्ने थाहा पाउने छ’ भनेको छ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उत्तर कोरियामाथि उसको परमाणु कार्यक्रमकै कारण अमेरिकाले पनि प्रतिबन्ध लगाएको छ । उत्तर कोरिया र अमेरिकाबिच पछिल्लो समय पुनः वार्ताको प्रयास भइरहेको छ ।

जापान र अमेरिका सहयोगी राष्ट्र हुन् । तर जापानका प्रधानमन्त्रीका बारेमा गरेको टिप्पणीले सो प्रयासमा असर पर्न सक्ने आँकलन गरिएको छ।

गएको बिहीबार उत्तर कोरियाले हामग्योंग प्रान्तबाट जापान सागरमा दुई मिसाइल प्रहार गरेको दक्षिण कोरियाले बताएको थियो । त्यसको आलोचना गर्दै जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाले बारम्बार ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिरहेको र यो जापानसँगै अन्तर्राष्ट्रिय समुदायका लागि खतरा रहेको बताएका थिए । यसकै प्रतिक्रिया स्वरुप उत्तर कोरियाले जापानका प्रधानमन्त्रीलाई मुर्ख भनेको हो ।

प्रतिक्रिया