छाउपडी हटाउन धामीझाँकीको साथ

छाउपडी हटाउन धामीझाँकीको साथ

दैलेख मंसिर २० गते ।
दैलेखमा छाउपडी प्रथा न्यूनीकरण गर्न धामीझाँक्रीसमेत साथ दिन थालेका छन् । महिनावारी हुँदा घर भित्र बसे देवता (धामी झाँकी) रिसाउँछन्, परिवारमा भाँडभैलो हुन्छ भन्ने मान्यतालाई चिर्दै अहिले धामी झाँकीले महिनावारी हुँदा सुरक्षित स्थानमा बस्न सुझाव दिँदै आएका छन् ।

भैरबी गाउँपालिका र पञ्चदेवल मावीको समन्वय, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र एभरेष्ट क्लबको सहकार्यमा सहयोगी हातहरुको समूह (सहास) नेपालद्धारा रावतकोटमा आयोजित छाउपडी प्रथा न्यूनीकरणमा सरोकारवालाहरुको भुमिका विषय छलफलमा धामीझाँक्रीहरुले महिलाहरुलाई महिनावारी हुँदा घरभित्रै सुरक्षित कोठामा बस्न सुझाव दिएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा स्थानीय धामी जयबहादुर विष्टले महिनावारी हुँदा घरभित्रै बस्न महिलाहरुलाई आग्रह गरे । उनिजस्तै यहाँका मष्टा देवताका मुल धामी टोपबहादुर थापाले घरभित्र कोठामा सुरक्षित तरिकाले बस्दैमा कुनै अनर्थ नहुने बताउँदै चेतनास्तरमा कमी भएका कारण महिलाहरु आफै बाहिर बस्ने गरेको बताए ।

कार्यक्रममा भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले छाउपडी हटाउन महिलाहरु आफै सचेत हुनुपर्ने बताइन् । उनले स्थानीय तह मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गरि छाउपडीजस्ता सामाजिक कुरीति अन्त्य गरिने बताइन् । सहास नेपाल बायोरेमा परियोजनाका परियोजना अधिकृत श्रृजना श्रेष्ठले अहिले पनि छाउपडी जस्तो कुरिति र कुसंस्कारलाई तोड्न नसक्नुले समग्र विकासमा बाधा पु¥याएको बताइन् । ‘श्रृष्टिको चेतनशिल प्राणी मानिएका मानिसहरुले समाज भित्र रहेको छाउपडी जस्तो कुरीति कुुसंस्कारलाई तोड्न नसकेमा चेतनशिल प्राणी हुनु अर्थ हुँदैन,’ उनले भनिन ‘समग्र विकासका लागि मानवीय विकास हुुनुु जरुरी छ ।’

एभरेष्ट क्लबका फिल्ड संयोजक कृष्णा श्रेष्ठले छाउपडी प्रथाका कारण धेरैले शारीरिक तथा मानसिक यातना सहनु परेको बताए । पञ्चदेवल मावीका छात्र दिनेश महतराले छाउपडी मानवता विरोधी भएको बताउँदै महिनावारी हुँदा छाउगोठमै बस्नेभएकाले महिलाहरु हिंसामा परेको बताए ।
छलफलमा सोहि अबसरमा जिल्ला बार एशोसियसनका अध्यक्ष यमराज थापाले महिला हिंसा, छाउपडी प्रथा र यसले समाजमा परेको असरहरु तथा छाउपडी प्रथा विरुद्ध बनेको कानूनी व्यवस्थाबारे जानकारी दिँदै कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोहि अबसरमा रावतकोटमा छाउपडी नमान्ने र महिनावारी भएको बेला आफ्नो घरभित्रै बस्ने र घर भित्र बस्न सहयोग गर्ने व्यक्तिहरु भैरबी गाउँपालिका–१ जाहारमडीका उषा थापा र उनको श्रीमान राजु विकलाई सम्मान गरिएको थियो । सहास नेपालले १९६ घरधुरीमा गरेको सर्वेक्षणमा यहाँका महिलाहरुले छाउपडी मान्ने, आँगनसमेत छुन नपाइने र गोठमा बस्दै आएको बताएका थिए ।

भैरबी गाउँपालिकाका उपाध्यक्ष पदम कुमारी विष्टको अध्यक्षता तथा सहास नेपाल बायोरेम परियोजनाको सहायक जेण्डर अधिकृत प्रतिभा विकले संचालन गरेको छलफलमा स्थानीय धामीझाँकी, जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, कानुन व्यवसायी, प्रहरी, बाल क्लब, यूवा क्लबका पदाधिकारी, शिक्षक, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

प्रतिक्रिया