‘टाइम’ की वर्ष व्यक्ति १६ वर्षीया ग्रेटा र ‘शान्ति बिथोल्न आएकी बच्ची’ भन्ने शासकहरुलाई झापड

‘टाइम’ की वर्ष व्यक्ति १६ वर्षीया ग्रेटा र ‘शान्ति बिथोल्न आएकी बच्ची’ भन्ने शासकहरुलाई झापड

एजेन्सी । विश्वप्रसिद्ध पत्रिका टाइमले यस वर्ष अर्थात् सन् २०१९ को वर्ष व्यक्ति (पर्सन अफ दि इयर) मा जलवायु परिवर्तनबारे अभियानरत १६ वर्षीया एक किशोरी ग्रेटा थुन्बेर्गलाई घोषणा गरेको छ ।

टाइमले वर्ष व्यक्तिमा ग्रेटालाई छानेको घोषणा गर्दैगर्दा विश्वका शक्ति राष्ट्रका शासकहरु उनलाई ‘बच्ची’, ‘केही नजानेकी फुच्ची’ ‘दयालु तर अज्ञानी’ जस्ता संज्ञा दिइरहेका थिए ।

तर तिनै ग्रेटाले आफुलाई संसारकै सर्वशक्तिमान हुँ भन्ने अहं पाल्ने शासकहरुलाई पछि धकेलेर वर्ष व्यक्ति बन्दै टाइम म्यागेजिनको कभरमा ठिंग उभिएकी छिन् ।

पृथ्वीमा भइइरहेको विनाशकारी परिवर्तन र यसले जलवायुमा परेको असरबारे विश्वलाई झक्झक्याएको भन्दै ग्रेटालाई टाइमले वर्ष व्यक्ति घोषणा गरेको हो । टाइम म्यागेजिनले अगाडि भनेको छ, ‘सामान्य रूपबाटै यस विश्वव्यापी अभियानको नेतृत्व गर्न आएकी उनी यो वर्ष विश्वले खेपिरहेको सबैभन्दा ठूलो मुद्दाको सबैभन्दा ठूलो स्वर बनेकी छन् ।’

सन् १९२७ यता वर्ष व्यक्ति घोषणा गर्दै आएको म्यागेजिनले यसरी स्थान दिएकी स्वीडिस किशोरी नै सबैभन्दा कम उमेरकी रहेको जनाइएको छ । ग्रेटाले भने घोषणालाई विश्वास नै नलाग्ने कुरा भएको भन्दै निकै गर्वसाथ म यो खुसी फ्राइडेज फर फ्युचर अभियानका सबैजना सहित जलवायु परिवर्तनबारे जहाँतहीँ रहेर काम गर्नेहरूमा समर्पित गर्न चाहन्छु भनेकी छिन् ।

टाइमले उनले गरेको कामको कदर गर्दै वर्ष व्यक्ति घोषणा गरिरहँदा ग्रेटा भने स्पेनको म्याड्रिडमा चलिरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनलाई सम्बोधन गरिरहेकी थिइन् ।

म्याड्रिड सम्मेलनमा उनले विश्व नेताहरूलाई सच्चा काम नगर्ने तर त्यसलाई ढाक्न अनेक सिर्जनशील तरिका अपनाउने प्रवृत्ति त्याग्न अपील गरिरहेकी थिइन् । अबको दशक हामी बसेको ग्रह अर्थात् पृथ्वीको भविष्यका लागि निर्णायक हुनेमा पनि उनले सचेत गराइन् ।

गतवर्षदेखि प्रत्येक शुक्रवार आफ्ना कक्षा छाड्दै स्वीडिस संसदबाहिर धर्ना दिन थालेकी उनको यस अभियानले बिस्तारै राष्ट्रिय आकार ग्रहण गर्दै विश्वव्यापी बनेको हो । ‘फ्राइडे फर फ्युचर’ नामाकरण गरेको यस अभियानले संसारलाई एकै पटक उद्वेलित गराइरहेको छ ।

‘फ्राइडे फर फ्युचर’ अभियानमा पृथ्वीको उत्तरी र दक्षिणी दुबै गोलाद्र्धका करोडौं अभियन्ताहरु जोडिएका छन् । विश्वभरका दशौँ लाख विद्यार्थी उनकै आह्वानमा शुक्रवार एक दिन कक्षा छोडेर सडकमा पुग्ने गरेका छन् ।

नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनमा समेत परेकी उनलाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले ‘एम्बास्डर अफ कन्साइन्स’ प्रदान गरेको थियो ।

उनले आफ्ना भ्रमणहरुमा हवाइजहाजभन्दा पानीजहाजको प्रयोग गर्ने गर्दछिन् । कार्बन उत्सर्जनलाई छल्न भन्दै उनले यस्तो गर्न थालेकी हुन् । सेप्टेम्बरमा स्वीडेनबाट अमेरिका जाँदा पनि उनले हवाईजहाजको सट्टा पानीजहाज प्रयोग गरेकी थिइन् ।

त्यही बेला न्यूयोर्कमा भएको जलवायु सम्बन्धी सम्मेलनमा उनले विश्व नेताहरुलाई ‘खोक्रा शब्दहरूले तपाईँहरूले हाम्रो, मेरा सपनाहरू र मेरो बाल्यकाल चोर्नुभएको छ । हामीहरूले तपाईँहरूलाई हेरिरहेका छौँ ।’ भन्दै चेतावनी दिएकी थिइन् ।

यसैबीच शक्ति राष्ट्रका नेताहरुले भने उनलाई नजरअन्दाजका रुपमा लिएका छन् । म्याड्रिड सम्मेलन भाग लिन पुगेका ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले ग्रेटालाई ‘समस्या सिर्जना गर्ने बच्चा’ भनेर सम्बोधन गरे ।

राष्ट्रपति बोल्सोनारुले भन, ‘ग्रेटाले इन्डियन्सहरूले अमेजन संरक्षण गरेर बसेकै कारण उनीहरूको मृत्यु भएको भनेकी छन् । प्रेसले उनीजस्ती केटाकेटीलाई स्थान दिइरहेको कुरा निकै रोचक छ ।’ ग्रेटालाई उनले ’समस्या सिर्जना गर्ने बच्चा’ को संज्ञासमेत दिए ।

यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ’दयालु तर निकै थोरै कुरा बुझेकी किशोरी’ भन्दै टिप्प्णी गरेका थिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग त उनको ट्वीटरमै भनाभन भएको थियो ।

प्रतिक्रिया