‘उनको टाउकोबाट रगत बगिरहेको थियो, खुब डराएकी थिइन्’

‘उनको टाउकोबाट रगत बगिरहेको थियो, खुब डराएकी थिइन्’

एजेन्सी । भारतमा नयाँ नागरिकता कानुनविरुद्ध अहमबाद शहरमा ठूलो भीड जम्मा भएको थियो । विरोध प्रदर्शनका लागि ठूलै संख्यामा प्रहरी पनि तैनाथ गरिएको थियो । तर, विस्तारै प्रदर्शनकारी संख्या प्रहरीको भन्दा धेरै नै बढ्यो । प्रदर्शनकै क्रममा प्रदर्शनकारी आक्रोशित बने र प्रहरीमाथि ढुंगामुढा गर्न थाले ।

त्यसपछि प्रहरीहरूमा भागाभाग मच्चियो । उनीहरू ज्यान बचाउन भाग्न थाले । कोही नजिकैको पसलमा गएर लुके त कोही साना लरीको पछाडि । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा प्रदर्शनकारीले प्रहरीलाई लखेटेकाे देख्न सकिन्छ ।

अहमदाबाद हिंसा

एकातिर, सैयौं मानिस प्रहरीमाथि ढुंगा हानिरहेका थिए, अर्कातिर केही मानिस ती प्रहरीलाई बचाउने प्रयास गरिरहेका थिए । शाह–ए–आलम क्षेत्रमा केही मानिस भीडबाट प्रहरीलाई बचाउनका लागि प्रयासरत देखिन्थे ।‘प्रहरीमाथि ढुंगामुढा भइरहेको थियो, ज्यान बचाउन केही प्रहरी नजिकैको पसलमा लुकेका थिए, हाम्रो घरको छेउमा उभिएका केही केटाले ती प्रहरीलाई घरभित्र लिएर आए,’ स्थानीय फरीन बानोले गुजरातीमा भनेका कुरा उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘मैले उनीहरुको टाउकोको उपचार गरेँ र उनीहरू केही शान्त देखिए ।’

फरीन बानोका अनुसार घाइते एक महिला कन्स्टेबल पनि उनको घरमा आइन् ।

बानेले भनिन्, ‘कन्स्टेबल निकै डराएकी थिइन् । उनको टाउकोमा ढुंगाले लागेको रहेछ र उनी रोइरहेकी थिइन् । अर्का एक प्रहरी अधिकारीको चाहिँ हातमा ढुंगाले लागेको थियो, ती अधिकारी पनि निकै डराएका देखिन्थे । हामीले उनीहरूलाई सान्त्वना दियौं ।’

अर्का एक प्रहरी अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो । ‘उनको टाउकोबाट रगत बगिरहेको थियो, मैले रुवा लगाइदिएँ र आफ्नो रुमालले घाउ छोपिने गरी बाँधिदिएँ,’ बानोले भनिन्, ‘हामीले आफ्नो घरमा दुई प्रहरी र एक महिला कन्स्टेबललाई राखेका थियौं र बाँकी तीन जनालाई पछाडिको कोठामा पठाएका थियौं, किनकि उनीहरू धेरै नै डराएका थिए ।’

स्थिति शान्त भएपछि घाइतेहरू आ–आफ्नो घरतिर गए ।

फरीन बानो भन्छिन्, ‘हाम्रो सामुन्ने को छ, यसले केही फरक पार्दैन । मानवताको भावनाले उनीहरूको मद्दत गर्नुपर्छ ।’

प्रतिक्रिया