दैलेखमा भत्काइए ६३ छाउगोठ

दैलेखमा भत्काइए ६३ छाउगोठ

हिक्मतबहादुर नेपाली
दैलेख पुष २२ ।

जिल्लामा सामाजिक कुसंस्कारको रुपमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि स्थानीय प्रशासनले कडाईका साथ काम सुरु गरेको छ । धर्म, संस्कृति र परम्पराको नाममा कुसंस्कार उन्मुलन गर्न कडाई गरिएको हो । सोमवार देखि थालिएको छाउगोठ भत्काउने अभियान अन्तरगर्त जिल्लामा ६३ वटा छाउगोठ भत्काईएको छ । चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा भैरबी र गुराँस गाउँपालिकामा गरि ६३ वटा छाउगोठ भत्काईएको प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकारी दिए । पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मुलन सम्बन्धि अन्तरक्रिया र छलफल गरिएको थियो । तर, सोमवार देखि जिल्लाभर छाउगोठ भत्काउने अभियान थालिएको छ । छाउगोठ भत्काउन सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री सहितको प्रहरी टोली गाउँमा खटिएको छ ।

छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनीधि नागरिकहरुको सक्रिय छन् । तर, जिल्लाका अधिकाँश बस्तीहरुमा छुट्टै छाउगोठ नभई महिनावारी हुँदा गाई भैसीसँगै गोठमा बस्ने गर्छन् । महिनावारी हुँदा गाईभैसी बाँधेकै ठाउँमा बस्ने महिलाको संख्या अत्याधिक छ ।
यस विषयमा प्रहरीले सचेतना फैलाएको डिएसपी ओलीले बताए । ‘महिलाहरु गाईभैसी गोठमा बस्ने गरेको जानकारीमा आएको छ,’ डिएसपी ओलीले भने ‘गाईभैसी गोठमा बसेको भेटिएमा फौजदारी अपराध संहिता अन्तरगर्त मुद्धा चलाउँछौ ।’ जसको घरमा छाउप्रथा प्रचलनमा रहेको पाइन्छ त्यस्तो घरको अभिभावक र छाउगोठ बस्ने महिलालाई समेत कानुनी कारवाहीको दायरामा ल्याउने डिएसपी ओलीले बताए ।

प्रतिक्रिया