कोरोनाभाइरसका कारण ४२७ को मृत्यु, २०,६२८ संक्रमित

कोरोनाभाइरसका कारण ४२७ को मृत्यु,  २०,६२८ संक्रमित

काठमाडौं : कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ भने संक्रमित हुनेको संख्या २०,६२८ पुगेको छ ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको रिपोर्टअनुसार सोमबार ६४ जनाको मृत्यु र ३,२३५ नयाँ संक्रमित भेटिएको रिपोर्ट सार्वजनिक भएको हो । त्यसमध्ये एक जनाको मृत्यु हङकङमा भएको चिनियाँ समायचार संस्थाहरुले उल्लेख गरिरहेका छन् ।यससँगै कोरोनाभाइससलाई लिएर चीन र अमेरिकाबीच द्वन्द्व देखिएको छ ।

चीन परराष्ट्र मन्त्रालयले सोमबार अनलाइनमार्फत पत्रकार सम्मेलन गरेर चीनमा बढेको कोरोनाभाइरसको प्रकोपलाई लिएर अमेरिकाले अफवाह फैलाइरहेको आरोप लगाएको थियो । चीनमा संक्रमणको मात्रा बढेपछि विभिन्न देशले यातायात र सीमा प्रतिबन्ध घोषणा गरिरहेका छन् ।

यसका कारण चीन पछिल्लो समय एक्लो जस्तो देखिएको विश्लेषण अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको छ ।चीनले भने सोमाबार मात्रै चीनमा बसिरहेका विश्वका कुनै पनि देशका नागरिकको उपचारमा कमि हुन नदिने बताएको छ । चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ताले कोरोनाभाइरसको प्रकोपबारे अमेरिकाले विश्वभर अनावश्यक त्रास फैलाइरहेको बताएकी छन् ।

त्यसको केही समयपछि जेनेभाबाट डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाभाइरससँग लड्न चीनसँगको यातायात र व्यापारमा प्रतिबन्ध लगाउनु आवश्यक नरहेको अभिव्यक्ति दिएका छन् ।त्यस्तै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडनोम गेब्रियसले कोरोनाभाइरससँग लड्नका लागि चीनसँगको यातायातमा प्रतिबन्ध लगाउनु पर्ने आवश्यक्ता नरहेको बताएका थिए ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले सोमबार कोरोनाभाइरसको अफवाह फैलाएर चीनसँगको व्यापार र यातायातमा हस्तक्षेप गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका हुन् ।“आ-आफ्नो मुलुकमा भएको संक्रमण र क्षतिका आधारमा निर्णय लिएर कार्यन्वयन गर्दा हुन्छ” विश्व स्वास्थ्य संकट घोषणा गरेपछिको पहिलो डब्ल्यूएचओको कार्यकारी बोर्डमा प्रमुख टेड्रोसले भनेका छन् ।

चीनका राष्रट्रपति सी जिनपिङले सोमबार बसेको चिनिया कम्युनिष्ट पार्टीको बैठकलाई सम्बोधन गर्दै कोरोनाभाइरस नियन्त्रण गर्नु अहिलेको महत्वपूर्ण कार्य भएको बताएका छन् ।चीनले यसका लागि छिट्टै एउटा प्रोजेक्टको थालनि गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया